काठमाडौं । राजावादी आन्दोलनमा संलग्न रास्वपा नेता डा. राजकुमार राईलाई पक्राउ गरेको खबर आज सार्वजनिक भयो । उनलाई तीनकुनेको नीजि घरमा आगजनी गरिएको घटनासँग जोडेर पक्राउ गरिएको हो ।
रास्वपाले आज एक विज्ञप्ती जारी गर्दै डा. राई हाल पार्टीमा नरहेको दावी गरेको छ । यद्यपि, राईले पार्टी त्यागेको घोषणा गरेका छैनन् भने रास्वपाले पनि कारवाही गरेर निकालेको छैन ।
राईले त्यस दिन ‘नेपाल र भावी पुस्ताको अस्तित्वको लागि जनआन्दोलन’ भन्दै आफू राजावादीको आन्दोलनमा संलग्न भएको फोटो हालेका थिए । लगत्तै अर्को स्टाटसमा लेखको थिए, ‘तीनकुनेमा बिल्डिङ जल्यो, सायद कुनै मारबाडी घरानाको हो कि !’
राईले दोस्रो स्टाटसमार्फत् ‘मारवाडीको अफिस’ भनेर व्यंग्य हान्न खोजेको व्यक्ति कोही नभएर रास्वपा खोटाङकै पूर्वसभापति रवीन्द्र ओझा हुन् ।
रास्वपा खोटाङभित्रको अन्तरसंघर्षका कारण डा. राईले ओझालाई कटाक्ष गरेका थिए । आगजनी गरिएको उक्त घरमा ओझाको अफिस छ जहाँबाट उनी डिजिटल डिजिटल हस्ताक्षर र सीसीटीभीको व्यापार गरिरहेका थिए ।
‘मैले डा. सापलाई यो व्यवस्था ढाल्नुहुन्न, यही व्यवस्था ठिक छ, त्यता नलागौं भनेर सम्झाएको थिएँ, तर उहाँले मान्नुभएन,’ ओझाले नेपाल प्रेसलाई भने, ‘डा. सापले १०० पटक मेरो अफिसमा आएर चिया र खाजा खानुभएको थियो । पछि त्यही घरलाई मारबाडीको हो भन्नुभयो ।’
थाहा पाईपाई ‘मारबाडीको घर’ भनेपछि आफूले डा. राईको स्टाटसको स्क्रिनसट लिएर स्टाटस लेखेको ओझाले बताए । उनले लेखेका थिए, ‘राजतन्त्रको खोटाङको नाइके विद्धान ! यस्तैले हो आज घर जलाएको ।’
तर, डा. राई आफ्नो बाबुजस्तो मान्छे भएको ओझाको भनाइ छ ।
उनले भने, ‘डा. सापलाई देखेरै म रास्वपा भएको हो । त्यत्रो विद्धान मान्छे जोडिएका छन् भनेर म रास्वपा भएको थिएँ ।’
तर, रास्वपा प्रवेश गर्नुअघि डा. राई कांग्रेस थिए भन्ने कुरा आफूले धेरैपछि मात्रै थाहा पाएको एमाले परित्याग गरेर रास्वपा भएका ओझाले बताए । साथै मिडियामा आएजस्तो आफूहरुबीच कुनै पनि किसिमको टकराव र तिक्तता नभएको ओझाको दाबी छ ।
उनले भने, ‘म रास्वपा खोटाङको संस्थापक संयोजक हुँ । पछि मलाई फेरि सभापति हुनुपर्छ भनेर साथीहरुले दबाब दिए । तर, मभन्दा युवा मुकुन्दकृष्ण थापा सभापति हुनुपर्छ भनेर म अधिवेशनमै गइनँ । पछि त डा. साप मुकुन्दसँगै चुनाव लड्नुभएछ ।’
गत पुस १३ गते भएको खोटाङ रास्वपाको अधिवेशनमा डा. राई थापासँग पराजित भएका थिए । केन्द्रिय सदस्य तथा सांसद तोसिमा कार्कीको उपस्थितिमा दिक्तेलमा भएको सो भेलाबाट थापा सभापतिमा निर्वाचित भए । थापाले ३० मत ल्याउँदा डा. राईले ६ मत ल्याएका थिए ।
पराजित भएपछि नै उनी पार्टीमा निष्कृय हुँदै गएको रास्वपा नेताहरु बताउँछन् ।
३ करोड क्षतिपूर्ति दाबी गर्दै प्रहरीमा निवेदन
ओझाले आफ्नो अफिसमा ३ करोड हाराहारीको क्षति भएको भन्दै प्रहरीमा निवेदन दिइसकेका छन् । सफ्टवेयरको सोर्सकोड भएको चारवटा ल्यापटप हराएको ओझाले बताए । ल्यापटपको साथै सिसिटिभीको डिभीआर नै हराएको उनको दाबी छ ।
ओझाले भने, ‘मेरो ल्यापटप चाहिँ मैले केही दिनदेखि घरमा लगेर चलाएकाले घरमै थियो, चोरी भएन । मुख्य कुरा ल्यापटपसँगै मेरो सफ्टवेयरको सोर्सकोड हरायो । सफ्टवेयर बनाउन पैसा भएर मात्रै हुँदैन, समय पनि उत्तिकै लाग्छ । मैले आठ नौ वर्ष लगाएर सफ्टवेयर बनाएको थिएँ, सबै खत्तम भयो ।’
ओझा १६ वर्षदेखि व्यापारमा सक्रिय छन् । १३/१४ वर्षदेखि आगजनी गरिएको त्यही घरमा अफिस संचालन गर्दै आएका थिए । कुनै समय एक दर्जनभन्दा बढी रोजगारी सृजना गरेर बसेका ओझाको कम्पनीमा अहिले पनि ६ जनाले काम गरिरहेका थिए । तर, सोर्सकोड सहितको ल्यापटप नै हराएपछि समस्यामा परेको ओझाले बताए ।
अहिले आफूले तीनवटा कम्प्युटर अर्डर गरेको, भोलि–पर्सीबाट अफिस भएको घरमा बत्ती समेत बनिसक्ने र काम सुरु गर्ने उनले जानकारी दिए । तर, अहिले मिडियामा अनेक खाले समाचार आएका कारण आफू र आफ्नो अफिस असुरक्षित बनेर गएको ओझाको गुनासो छ ।
उनले भने, ‘अहिले राजावादीले मलाई नै खेद्न थाले, संजालमा अनेक भन्न थालिसके । म त व्यवसाय गरिखाने मान्छे । मेरो तीन करोडको क्षति भएको छ । म समस्यामा परेको छु ।’
यी सारा समस्याका बीचमा मिडियामा आफू र डा. राईबारे जे जस्ता खबर आए, तिनमा सत्यता नभएको ओझाको भनाइ छ । आफूहरुबीच कुनै द्वन्द्व नभएको उनले बताए ।
ओझाले उही कुरा दोहोर्याए, ‘अस्ति भर्खरसम्मै गफगाफ हुँदा त्यस्तो भेलामा नजानु है डा. साप भनेर सम्झाएको थिएँ । तर, उहाँले मान्नुभएन । हामीबीच व्यक्तिगत द्वन्द्व छैन, विचारको द्वन्द्व अलग कुरा हो । उहाँ खोटाङको बुज्रुक मान्छे, विद्धान हो । त्यस्तो विद्धानको कुप्रचार हुँदा दुःख लागेको छ ।’
अनि तपाईंको अफिस भएको घरलाई चाहिँ किन ‘मारबाडीको घर’ भनेर डा. सापले कुप्रचार गरे त भन्ने प्रश्नमा ओझाले भने, ‘त्यो त उहाँको व्यक्तिगत कुरा भयो । किन त्यसरी लेख्नुभयो, मलाई थाहा छैन ।’