काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पार्टी कमिटीमा मिलेर जान जोड दिँदा आफूमाथि तानाशाही भएको आरोप लागेको भन्दै असन्तुष्टि जनाएका छन् ।
नेपाल बुद्धिजीवी परिषद्को ११औँ राष्ट्रिय अधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले कसैलाई चुनाव लड्न आफूले प्रतिबन्ध नलगाएको बताए ।
चुनाव गर्दा गुट बन्ने र पछिसम्म जाने भएकाले आफूले सहमतिमा जोड दिएको उनको भनाइ छ ।
ओलीको भनाइ
किन हो एउटा हल्ला चलाउँछन्, म छक्क पर्छु । मिलेर जानुस् भन्दा नेतृत्वले चुनावै गर्न दिएन भन्छन्, अधिनायकवाद भयो, तानाशाही भयो भनेर । मिलेर जानुस्, लडेर पनि एउटै अध्यक्ष हुने हो ।
उपयुक्त मूल्याङ्कन गरेर उपयुक्त मान्छेलाई छाड्नुस् न ! त्यति पनि सकिन्न ? यही चाहिँ डेमोक्रेसी छ्यालब्याल गर्नुपर्छ ? कतिपय ठाउँमा त डेमोक्रेसी अझै बढ्तै गएको देखिन्छ । त्यस्तो डेमोक्रेसी नचलाऔँ ।
सबैभन्दा राम्रो सहमतिका साथ जानुस्, मैले जहिले पनि त्यही भन्छु । सहमतिका साथ जान सकिँदैन भने शुभकामना छ चुनाव लड्नुस् जित्नुस्, जोजो उम्मेदवार बन्नु छ बन्नुस् । एउटा पोस्टमा एमाले मात्रै जित्छ याद राख्नुस्, तर परिणाम आएपछि काइँकुइँ नगर्नुस् ।
सहमति गर्ने बेलामा गर्ने अनि के गर्ने बाध्य बनाएर चुनाव लड्न दिएनन्, अत्यधिक मतले मै जित्थे भन्ने गरी पनि सहमति नगर्नुस् । सहमति गरेपछि हाँसीखुसीसाथ अपनाएर जानेगरी अघि बढ्नुस्।
चुनाव लडेर साथीहरू आउँछन्, म उपविजेता भए भन्छन् । म कहिलेकाहीँ त अलमल पर्छु, अध्यक्ष र उपाध्यक्ष त बुझिएको थियो, विजेता र उपविजेता कसरी भयो ? के हो उपविजेता भन्दा अलिकतिले जितिएन, त्यही भएर उपविजेता ।