Take a fresh look at your lifestyle.

चौथो चरणको क्यान्सरको उपचारमा एकरुपता ल्याउन प्रोटोकल बनाइने

0

काठमाडौं । सर्जिकल अन्कोलोजी सोसाइटी अफ नेपालले चौथो चरणको क्यान्सर उपचारमा एकरुपता ल्याउन प्रोटोकल बनाउने भएको छ ।राजधानीमा शनिबार भएको ‘पेरिटोनियल सर्फेस मालिग्नासिस’को प्रथम हिमालयन अन्तर्राष्ट्रिय सम्मेलनले अस्पतालैपिच्छे फरकफरक उपचार भइरहेकाले त्यसमा एकरुपता ल्याउन प्रोटोकल बनाउने घोषणा गरेको हो ।

नेपालमा अहिले चौथो चरणमा पुगेका पेटसम्बन्धी क्यान्सर बिरामीहरूको उपचारमा एकरुपता छैन । विश्वमै नयाँनयाँ प्रविधि आइसकेकाले नेपालमा पनि ती प्रविधिको प्रयोग गरी उपचारमा एकरुपता ल्याउन प्रोटोकल बनाउने निर्णय भएको सम्मेलनमा संयोजक डा. उत्सवमान श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सम्मेलनले सर्वसाधारण र बिरामीलाई क्यान्सरसम्बन्धी जनचेतना फैलाए जसरी चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई पनि क्यान्सर उपचारमा विकास भएर प्रयोगमा आइरहेका नयाँ नयाँ प्रविधिबारे तालिम वा अभिमुखीकरण दिई नवीकृत गर्नुपर्नेमा जोड दिएको छ ।

सम्मेलनले चौथो स्टेजमा पुगेका पेटसम्बन्धी क्यान्सर बिरामीहरुको उपचारमा हाइपेक प्रविधिको प्रयोगमा जोड दिएको संयोजक श्रेष्ठले जानकारी दिए । उनका अनुसार अन्य उपचार विधिभन्दा हाइपेक प्रविधिले बिरामीको अप्रेसन गर्दागर्दा किमोथेरापी गर्न मिल्ने र सबै प्रोटोकल मिलाएर यसबाट उपचार गर्दा बिरामीको बाँच्ने आयु सरदर ५१ महिनासम्म बढ्छ ।

हाइपेक प्रविधिको प्रयोग बढाउने उद्देश्यले आयोजित उक्त सम्मेलनमा नेपाल र भारतका गरी ९७ जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको आयोजक सर्जिकल अन्कोलोजी सोसाइटी नेपालका उपाध्यक्ष डा. कपेन्द्रशेखर अमात्यले जानकारी दिए ।

उनका अनुसार सम्मेलनमा पेटसम्बन्धी चौथो स्टेजका क्यान्सर विरामीहरुको उपचारमा प्रयोग भइरहेको नयाँ प्रविधि हाइपेक र त्यसको प्रयोग र त्यसको उपलब्धिबारे छलफल गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनमा भक्तपुर क्यान्सर अस्पतालका सर्जन डा. दीप लामिछाने अस्पतालमा हाइपेक प्रविधिबाट बिरामीको उपचार गर्दा अपनाएको विधि र त्यसको उपलब्धिबारे प्रस्तुति दिएका थिए । उनले चौथो चरणका क्यान्सर बिरामीहरुको उपचारमा यो प्रविधि अहिलेसम्मकै एउटा विकल्प भएको बताए ।

यस प्रविधिबाट उपचार गर्दा औषधिको प्रभावकारिता उच्च रहेको, बिरामीहरुको बाँच्ने सरदर आयु बढेको पाइएको उनले जानकारी दिए । हाल नेपालमा सरकारी अस्पतालतर्फ भक्तपुर क्यान्सर अस्पतालमा मात्रै हाइपेक प्रविधि रहेको छ ।

त्यस्तै सिभिल अस्पतालका रेडियोलोजिस्ट डा. राजबाबु व्यञ्जनकारले हाइपेक प्रविधिबाट उपचार गर्नुअघि पेटभित्र कहाँ कतिसम्म क्यान्सर फैलिएको छ भन्ने जानकारी पाउन गर्नुपर्ने जाँचबारे जानकारीमूलक प्रस्तुति दिए । उनले अल्ट्रासाउन्ड, सीटी र एमआरआईभन्दा पेट–सीटीस्क्यानबाट पेटको क्यान्सर स्पष्टसँग डाइग्नोस हुने जानकारी दिए ।

याे पनि पढ्नुस् : चौथो चरणका क्यान्सर बिरामीको उपचारमा बेथिति ! अन्तर्राष्ट्रिय सम्मेलन गर्दै सर्जिकल अन्कोलोजी सोसाइटी

सम्मेलनमा भक्तपुर क्यान्सर अस्पतालको एनेस्थेसिया विभागकी प्रमुख देवकी शाक्य गुमाजू, सर्जिकल विभागकी पुण्यराम खर्बुजा, नेपाल क्यान्सर अस्पतालकी प्याथोलोजिस्ट डा. बिनिता गुरुङले पनि प्रस्तुति दिएका थिए ।

त्यस्तै भारतस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस नयाँ दिल्लीको सर्जिकल अन्कोलोजी प्रमुख डा. सुनिल कुमार र बीएलके सुपर स्पेसियालिटी अस्पतालका सर्जन डा. दीप गोयलले हाइपेक प्रविधिबाट क्यान्सर बिरामीको उपचार गर्दा अपनाउनुपर्ने विधि र सचेतताबारे प्रस्तुति दिएका थिए ।

सम्मेलन नेपाल अर्बुदरोग निवारण संस्थाका सल्लाहकार एवं वरिष्ठ होटल व्यवसायी कर्ण शाक्यले उद्घाटन गरेका थिए । उनले ४० वर्षअघि आफ्नी छोरी र श्रीमतीलाई क्यान्सर रोग लाग्दा नेपालमा औंलामा गन्न पुग्ने क्यान्सर चिकित्सक नभएकोमा अहिले नयाँ पुस्ताका धेरै क्यान्सर चिकित्सक देखिएको उल्लेख गरे ।

उनले क्यान्सर रोग ज्यानमारा मात्रै नभई महँगोसमेत भएको भन्दै चिकित्सकहरुलाई प्राविधिक नभई आत्मिक बनेर बिरामीको पीडा बुझेर उपचार गर्न आग्रह गरे ।

Leave A Reply

Your email address will not be published.