Take a fresh look at your lifestyle.

‘दरबार हत्याकाण्डपछि कुशको बाहुन जस्तो नक्कली राजतन्त्र आयो, अहिले पैसा दिएर केही मान्छे ल्याएछन्’ (भिडिओ)

0

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निरङ्कुश राजतन्त्रमा विकास र सुशासन हुन नसकेकाले जनताले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्नु सबै पेसाकर्मीको पनि उत्तरदायित्व भएको बताएका छन् ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौं राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उनले सबैले सँगै लडेर ल्याएको लोकतन्त्र र प्राप्त उपलब्धिलाई रक्षा गर्दै कसरी सुदृढ बनाउने भन्नेमा लाग्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘निरङ्कुश हुकुमी शासनकालमा यस्ता संघसंगठन खुल्ने स्थिति थिएनन् । अहिले तपाईंहरु पेसागत र व्यावसायिक जिम्मेवारीका साथ राष्ट्रिय उत्तरदायित्व बोकेर अगाडि बढ्नुभएको छ । यही जेठ १५ गते हामीले गणतन्त्र दिवसको उत्सव मनायौँ । राजतन्त्र पक्षधरहरुले विरोध प्रदर्शन गरे । उनीहरुलाई जनमतसंग्रह भएको लाग्यो रे, तर पहिलो दिन दान (पैसा) दिएर केही मान्छे ल्याइए । दोस्रो र तेस्रो दिन मान्छेहरु घट्दै गए । मेरो नातिले जिस्किएर म डाइनोसर भएँ भन्दै हा…गरेर डर लागेन भनेर खेलेको याद आयो ।’

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीले मलाई राजतन्त्र फर्काउँछु भनेर डर देखाउन खोजेको हो भने म डराएँ, अब भयो, पुग्यो, चुप लागेर घरघरमा बसे हुन्छ भन्दै व्यंग्य गरे ।

उनले थपे, ‘अब राजतन्त्र फर्काउने होइन, देशलाई सुशासन र विकासको बाटोमा अगाडि बढाउने हो । अगाडि हिँड्न खोजेको घोडालाई पछाडि फर्काउन नखोज । घोडाले लात्ताले हान्नसक्छ, होस गर ।’

प्रधानमन्त्रीलाई लखेट्छौँ भनेको शान्तिपूर्ण त होला भन्ने प्रश्न गर्दै प्रधानमन्त्री ओलीले अढाई सय वर्ष राजतन्त्र हुँदा देशको अवस्था कहाँ थियो, अहिले हामी कहाँ पुगेका छौँ भन्ने बुझ्न आग्रह गरे ।

ओलीले भने, ‘दरबार हत्याकाण्डपछि कुशको बाहुन जस्तो नक्कली राजतन्त्र आयो । त्यसले झन् निरकुङ्शता लाद्‌याे । जनताको अधिकार खोस्यो । विकास गरेन । देश लुटेर, संविधानभन्दा माथि बसेर पैतृक सम्पत्ति थुपार्‍याे । अनि अहिले फेरि त्यही राजतन्त्र ल्याउनुपर्छ भन्दा लाज मान्नुपर्ने हो । यस्ताहरुले आफूलाई सूर्यका सन्तान भनेर जनतालाई कस्तो बेवकुफ बनाउन खोज्दैछन् । यस्ता कुराहरुसँग हामी सचेत हुनुपर्छ । यो जनताको सामाजिक उत्तरदायित्व हो । आफूले लडेर ल्याएको व्यवस्थाको रक्षा गर्न उभिनुपर्छ । प्रणालीमा केही कुरा फेर्न परे हामी यसलाई अझ सुन्दर लोकतन्त्र बनाउने गरी फेर्छौं, तर प्रतिगमन अब सम्भव छैन ।’

बिरामी भएमा उपचार गर्ने त छँदैछ, त्योभन्दा पहिला बिरामी हुन नदिन लाग्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले सस्तो र सजिलोसँग कसरी राम्रो उपचार दिन सकिन्छ भन्ने भावना बोक्न आग्रह गरे ।

चिकित्सा विज्ञान यो तहमा नपुगेको भए र अस्पताल नभएको भए आफ्नो बीसौँ वार्षिक पुण्यतिथि सकिइसकेको हुन्थ्यो भन्दै प्रधानमन्त्री ओलीले चिकित्सा क्षेत्रको महत्व मान्छेको आयुसँग रहेकाले स्वास्थ्यकर्मीलाई सचेत नागरिक भएकाले राष्ट्रिय दायित्वमा पनि लाग्न जोड दिए ।

उनले थपे, भगवानमा विश्वास गर्नेहरुको म चित्त दुखाउन चाहन्न, तर मैले डाक्टर र नर्सहरुले कठिन स्थितिमा पनि बिरामी जादुमयी रुपमा मान्छेलाई बचाएको देखेको छु । त्यसकारण म त भन्छु, डाक्टरर्स आर द ग्रेटर द्यान द गर्डस् । आज स्वास्थ्य क्षेत्रले असाधारण विकास गरेको छ । हामीले प्रतिरोधभन्दा अगाडि निरोधात्मक सचेतनामा लाग्नुर्छ । यस महासंघले भूमिका खेल्न सकोस् ।’

Leave A Reply

Your email address will not be published.