Take a fresh look at your lifestyle.

दीपक बोहरा: रूपन्देहीमा विकासको जग बसाल्ने नेता

0

भैरहवा । पञ्चायतकाल र गणतन्त्रमा गरी ९ पटक मन्त्री र चार पटक निर्वाचित सांसद दीपक बोहराको पोस्ट कोभिडका कारण ७४ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ । २००७ साल चैत ७ गते पाल्पाको तानसेनमा जन्मिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता बोहरा नेपाली राजनीतिमा सफल खेलाडी मानिन्थे ।

गुल्मीको अग्लुङ पुर्ख्यौली घर भए पनि बुबा तानसेनमा तत्कालीन बडाहाकिम भएका कारण बोहरा तानसेनमा जन्मिएका हुन् । उनी प्रतिमान र निमा बोहराका माइला छोरा हुन् । पछि बोहराको परिवार रूपन्देहीको भैरहवामा बसाइ सरेको हो ।

२०३६ सालमा रूपन्देहीबाट पहिलो पटक राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएका उनी ३१ वर्षको उमरेमै सूर्यबहादुर थापा प्रधानमन्त्री भएको मन्त्रिपरिषद्मा पर्यटन राज्यमन्त्री मनोनीत भएका थिए । सोही साल दोस्रो पटक पर्यटन सहायकमन्त्री, २०४० सालमा पर्यटन राज्यमन्त्री, २०४३ सालमा निर्माण तथा यातायात राज्यमन्त्री र २०४४ सालमा निर्माण तथा यातायातमन्त्री भएका थिए ।

गणतन्त्रकालमा पनि बोहरा २०६७ सालमा वन तथा भू-संरक्षणमन्त्री, २०७२ मा श्रम तथा रोजगारमन्त्री, २०७३ मा वाणिज्य तथा आपूर्तिमन्त्री र २०७४ मा स्वास्थ्यमन्त्री भएका थिए ।

बोहराका सहपाठी पूर्व गृहराज्यमन्त्री निरञ्जन थापा विद्यार्थी राजनीति र सामाजिक काम गर्दागर्दै ३१ वर्षको कलिलो उमेरमै राष्ट्रिय राजनीतिमा उदाएका बोहरा सफल राजनीतिज्ञ, सफल व्यवसायी र समाजसेवीका रूपमा स्थापित भएको स्मरण गर्छन् ।

‘दीपक र म सँगै रूपन्देहीमा विद्यार्थी राजनीति र सामाजिक काम गर्दागर्दै राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका हौं । मभन्दा उनी धेरै पटक सांसद र मन्त्री भए’, थापाले सम्झिए, ‘गणतन्त्रवादी नेताहरूले जे आरोप लगाए पनि बोहरा र म रूपन्देहीको विकासको जग हाल्ने नेता हौं । रूपन्देहीमा एकै पटक सिंचाइ, विद्युत र बाटोको काम भएको भैरहवा-लुम्बिनी भूमिगत जल परियोजना (भैलुभुज) बोहराको पालामा भएको हो ।’

अर्बौं लगानी भएको भैलुभुज परियोजनालाई रूपन्देहीमा किसानहरूले बरदानकै रूपमा र जिल्लावासीले विकासको मेरुदण्डका रूपमा लिने गर्छन् ।

दीपक बोहरा विद्यार्थी राजनीतिदेखि नै निर्भिक, नयाँ काम गर्न रुचाउने, गरिब र सुकुमबासीलाई माया गर्ने नेताको पहिचान बनाएको सहपाठी थापा बताउँछन् । बुटवलको दीपनगरको बस्ती, तिलोत्तमा- ८ को दीपनगरको बस्ती, छपिया र शुद्धोधनका विभिन्न ठाउँका बस्ती दीपक बोहराकै पालामा बसेको थापा सम्झन्छन् । ‘दीपक बोहराले बस्ती बसालेकै कारण ती ठाउँको नाम दीपनगर रहन गएको हो’, उनले भने ।

भैरहवाको गौतम बुद्ध विमानस्थल निर्माणमा पनि बोहराको योगदान रहेको थापा बताउँछन् । बोहराको अगुवाइ र पहलमा रूपन्देहीमा मात्र नभई प्यूठानलगायतका जिल्लामा थुप्रै विद्यालय भवन बनेका थिए ।

बोहराले वनमन्त्री हुँदा पहिलो पटक कालापथ्थरमा मन्त्रिपरिषद् बैठक राखेका थिए ।

बोहरा पार्टीभित्र विवाद हुँदा सबै पक्षलाई मिलाउन संयोजनकारी भूमिका निभाउन पनि सिपालु रहेको उनका सहकर्मी थापाले स्मरण गरे । ‘बोहरा राजनीतिका चतुर र सफल खेलाडी हुन्, पार्टीभित्र र बाहिरको विवाद मिलाउन संयोजनकारी भूमिकामा पनि सिपालु थिए’, थापाले सम्झिए ।

राप्रपा नेतामात्र होइन, फरक दलका नेता पनि बोहरा सुकुमबासी र भूमिहीनको पक्षमा काम गर्ने विकासप्रेमी नेता भएको स्वीकार्छन् ।

नेकपा एकीकृत समाजवादीका नेता एवं राजनीतिक विश्लेषक सिद्धिचरण भट्टराईले सैद्धान्तिक पक्ष र विचार नमिले पनि व्यवहारमा बोहरा सधैं भूमिहीन सुकुमबासीका पक्षमा उभिने र उनीहरूको बसोबासको अधिकारबारे बोल्ने नेता भएको बताए ।

‘बुटवलको दीपनगर उहाँकै नामबाट रहन गयो, रूपन्देहीका कैयौं बस्ती बोहराले नै बसालेका हुन् भन्ने छाप छ’, भट्टराईले भने ।

बुटवल दीपनगरका नेपाली कांग्रेस निकट युवा नेता हरि क्षेत्रीले दीपनगरको सुकुमबासी बस्तीलाई त्यो बेलाको सरकारले डोजर लगाई घरहरू भत्काउन खोज्दा दीपक बोहराले प्रतिकार गरेर बस्ती बचाएकाले उनको नामबाट दीपनगर राखिएको बताउँछन् ।

‘एमालेको ९ महिने शासन कालमा पुष्पलालको नामबाट पुष्पनगर राख्ने निर्णय गरे पनि त्यो नाम धेरै दिन टिक्न सकेन र हाल पनि दीपनगर नै भनेर सबैले अपनत्व लिन्छन्’, क्षेत्रीले भने, ‘विचार जेसुकै भए पनि उनी रूपन्देहीमा लोकप्रिय नेता हुन् ।’

बोहरा राजनीतिसँगै सफल व्यवसायी पनि थिए । बैंक अफ काठमाडौंका प्रमुख लगानीकर्ता बोहरा नै हुन् । बोहरा विसं. २०६७ मा राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष पनि थिए । विभिन्न राष्ट्रिय निकुञ्ज स्थापनामा पनि बोहराको देन रहेको मानिन्छ ।

काठमाडौंको फन पार्क पनि उनकै अग्रसरतामा स्थापना भएको हो । बुबा प्रतिमान र आमा निमाको स्मृतिमा भैरहवामा प्रतिमान-निमा स्वास्थ्य प्रतिष्ठान स्थापना गरिएको छ । त्यहाँ स्वास्थ्यसम्बन्धी पढाइ हुन्छ ।

बहालवाला गृहमन्त्रीलाई हराएर प्रतिनिधिसभाकाे यात्रा

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा रूपन्देही- ३ बाट तत्कालीन गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई पराजित गर्दै निर्वाचित भएका थिए बोहरा ।

चुनावअघि नै घाँटीमा समस्याका कारण उनले बोल्न सकेका थिएनन् । घरदैलोमा पनि बोहराले मतदातासँग दोहोरो कुराकानी र भाषण गरेका थिएनन् । उनले इसाराले नै मत मागेका थिए । उनको चुनावी सभामा निरञ्जन थापा, राप्रपाका जिल्ला अध्यक्ष प्रदीप उदय, नातिनी एवं केन्द्रीय सदस्य स्वाती थापा, केन्द्रीय सदस्य तोयनाथ लम्साल, सागरप्रताप राणालगायतले सम्बोधन गर्थे । बोहरा छेउमा बस्थे । निर्वाचन आउनु ६ महिनादेखि नै बोहरा बोल्न छाडेका थिए ।

पोस्ट कोभिडका कारण समस्या देखिएपछि उनी चिकित्सकको सल्लाहमा ‘भ्वाइस रेस्ट’ मा थिए । उनी पटकपटक उपचारका लागि देश बाहिर गइरहेका थिए । उनको तर्फबाट चुनावी सभामा उनका सहपाठी निरञ्जन थापाले भाषण गरिदिन्थे । चुनावी सभामा भाषण नगरी चुनाव जितेका बोहरा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि पनि स्वास्थ्यमा सुधार नभएपछि बैठकमा एकपटक पनि बोल्न सकेका थिएनन् ।

बोहरा कोरोना महामारीको दोस्रो लहरमा २०७७ साल जेठतिर संक्रमित भएका थिए । ‘पोस्ट कोभिडको कारण उहाँको घाँटीमा भएको समस्या निको भएन, हामीले अमेरिका र भारतका राम्रा अस्पतालमा उपचार गरायौं, तर बचाउन सकिएन’, बोहराकी नातिनी एवं राप्रपा केन्द्रीय सदस्य स्वाती थापाले भनिन्, ‘सांंसद भएपछि पनि स्वास्थ्यमा सुधार नआएपछि संसदमा बोल्न पाउनुभएन, उहाँको निधनले सिंगो रूपन्देहीलाई अपूरणीय क्षति भएको छ । उहाँ रूपन्देहीको विकासप्रेमी र समाजसेवी नेता हुनुहन्थ्यो, उहाँको अभाव सधैं खड्किनेछ ।’

रूपन्देही जिल्ला एउटै निर्वाचन क्षेत्र हुँदा पनि उनी निर्वाचित भएका थिए । गणतन्त्र आएपछि बोहरा २०६४ सालको संविधानसभा चुनावमा रूपन्देही- १ मा माओवादी केन्द्रका घनश्याम यादवसँग पराजित भएका थिए । २०७० को संविधानसभा निर्वाचनमा भने तत्कालीन क्षेत्र नम्बर २ बाट कांग्रेसका रामकृष्ण ताम्राकारलाई पराजित गर्दै विजयी भएका थिए ।

प्रतिनिधिसभा निर्वाचन २०७४ मा उनी नेकपा एमालेका घनश्याम भुसालसँग पराजित भएका थिए । भुसाललाई माओवादी केन्द्रको साथ थियो भने बोहोरालाई नेपाली कांग्रेसको । २०७९ मा बोहराले नेकपा एमालेको समर्थनमा तत्कालीन गृहमन्त्री एवं कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाणलाई पराजित गरेका थिए ।

दीपककी दुई श्रीमती, दुई छोरा र एक छोरी हुन् । जेठी श्रीमती मञ्जुतर्फबाट गौरव बोहरा पाइलट छन् र कान्छी श्रीमती उन्नतितर्फ छोरा प्रज्ज्वल व्यापारसँगै अहिले राजनीतिमा जोडिएका छन् । एकमात्र छोरी चाँदनी बोहराको ४५ दिनअघि हृदयाघातबाट मृत्यु भएको थियो ।

Leave A Reply

Your email address will not be published.