काठमाडौं । अदालतले गरेको आदेश विपरित अखिल नेपाल फुबटल संघ (एन्फा) को साधारणसभामा भाग लिन रोकिएपछि पूर्वअध्यक्ष गणेश थापा धर्नामा बसेका छन् ।
धुलिखेल स्थित साधारणसभा स्थलबाहिर उनले प्लेकार्ड बोकेर समर्थकहरुसहित धर्ना दिएका हुन् ।आज एन्फाको साधारणसभामा भाग लिन गएका थापालाई गेटमा रोकिएको थियो ।
अदालतले थापालाई साधारणसभामा नरोक्न अन्तरिम आदेश दिइसकेको छ । सो आदेशको प्रतिलिपिसमेत बोकेर जाँदा पनि रोकिएपछि थापा आक्रोशित बनेका थिए । उनीसँगै छोरा गौरव थापालाई पनि विनाकारण रोकिएको छ ।
यसैबीच, थापाले साधारणसभामा सहभागी हुन आएका खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङलाई ज्ञापनपत्र बुझाएका छन् । आफूले साधारणसभामा भाग लिन पाउनुपर्ने माग गर्दै उनले ज्ञापनपत्र दिएका हुन् ।
थापाले एन्फाका पदाधिकारीहरुसँग कुरा गर्न खोजिरहेका छन् । तर, अध्यक्ष पंकजविक्रम नेम्वाङसहित कुनै पनि पदाधिकारी उनीसँग संवाद गर्न तयार छैनन् । उनीहरु सबै थापाभन्दा पहिल्यै साधारणसभामा छिरेका थिए । गेटमा लफडा भइरहँदा पनि कोही बाहिर निस्किएनन् ।