Take a fresh look at your lifestyle.

साविक विजेता आर्मीलाई हराउँदै पुलिसले जित्यो मनमोहन कप

0

विराटनगर । मोरङमा भएको तेस्रो संस्करणको मनमोहन स्मृति एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । साकिक विजेता त्रिभुवन आर्मी क्लवलाई २४ रनले पराजित गर्दै पुलिस क्लबले उपाधि जितेको हो ।

पुलिस तीन वटै संस्करणको फाइनलमा पुगेको थियो, तर आर्मीसँगै पराजित हुँदै आएको थियो । जितसँगै पुलिसले नगद ४ लाख र ट्रफी तथा उपविजेता आर्मीले नगद २ लाख र ट्रफी हात परेका छन् ।

शनिबार भएको फाइनलमा टस हारेर ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा सबै विकेट गुमाई २३९ रनको योगफल खडा गरेको थियो । पुलिसका लागि अरुण ऐरी र कप्तान शंकर रानाले अर्धशतक पूरा गरेका थिए । ऐरीले ६४ र रानाले ५१ रन बनाएका थिए । त्यस्तै श्रवण यादवले ३२ र दीपक डुम्रेले ३६ रनको योगदान दिए ।

आर्मीका नरेन साउदसँगै दुर्गेश गुप्ता र तुलबहादुर थापाले २-२ विकेट लिए ।

पुलिसले दिएको २४० रनको लक्ष्य पछ्याएको आर्मीले ४८ ओभरमा सबै विकेट गुमाई २१५ रनमात्र बनाउन सक्यो । आर्मीका विकेटकिपर हिमांसु दत्तले अर्धशतकीय पारी खेल्दा पनि आर्मीलाई जित दिलाउन सकेनन् ।

दत्तले ६३ रन बनाउँदा निश्चल क्षेत्रीले ३६, इमरान शेखले २४, नरेन साउदले २१, जितेन्दूसिंह ठकुरीले २० र विशाल सुस्लिङले १८ रनको योगदान दिए ।

पुलिसका प्लेयर अफ फाइनल श्रवण यादवले ४ विकेट लिँदा चित्र विष्टले २ विकेट लिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी आर्मीका नरेन साउद भए । उनले नगद २५ हजार र ट्रफी हात पारे । त्यस्तै उत्कृष्ट ब्याटर पुलिसका शंकर राना र उत्कृष्ट बलर कोशीका प्रेम कामत घोषित भए । उनीहरुले जनही नगद १५-१५ हजार र ट्रफी हात पारे ।

बैशाख १३ गते सुरु भएको प्रतियोगितामा भारतको असाम क्रिकेट टीम, घरेलु टीम कोशी प्रदेश, बागमती प्रदेश, विभागीय टोली नेपाल पुलिस क्लब, आर्मी क्लब र सशस्त्र प्रहरी क्लब सहभागी रहेका थिए ।

Leave A Reply

Your email address will not be published.