Take a fresh look at your lifestyle.

मेयरले उद्घाटन गरेको सैलुनमा गर्मी भएपछि एसी दिन हेटौँडा उपमहानगरको तोक

हेटौँडा । स्थानीय सरकारले गरेका कतिपय निर्णय या तोकादेश चर्चाको विषय बन्ने गरेको छ । यस क्रममा हेटौँडा उपमहानगरपालिकाले तोक आदेश गरेको एउटा विषयले अहिले सामाजिक सञ्जालमा चर्चा पाएको छ ।

यो विषयको सुरुवात हुन्छ एउटा सैलुनको उद्घाटनबाट । हेटौँडा-४ मा सुरु गरिएको द नाइन्टिन सैलुनको उद्घाटन गर्न पुगेकी हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना लामाले उद्घाटनको क्रममा ‘यहाँ गर्मी रहेछ, एसी जडानको लागि उपमहानगरपालिकाको तर्फबाट सहयोग गर्छु’ भन्ने वाचा गरेकी थिइन् । सोही बाचालाई सम्झँदै सैलुन सञ्चालक सुसन घलानले अब गर्मीको महिना सुरु भएको र आफ्नो सैलुनमा ग्राहकको भिड बढेको भन्दै उपमहानगर समक्ष एक थान एसी र एक थान इन्भर्टरको लागि निवेदन दिए ।

उपमहानगरले पनि निवेदकको माग बमोजिम माग भएको सामानको लागत अनुमान तयार गरी दिनु भन्ने तोक लगाएपछि उक्त पत्र सामाजिक सञ्जालमा एकाएक भाइरल भएको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले एउटा निजी व्यवसायलाई एसी दिने गरी तोक लगाउनु सुशासनको खिलाफ भन्ने आशयले तर्क गरिरहेका छन् । लामा समर्थक कतिपयले भने युवाहरूले सुरु गरेको व्यवसायलाई स्थानीय सरकारले प्रोत्साहन गरेको टिप्पणी गरेका छन् । यो विषयमा उपमहानगरले भने अहिलेसम्म आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

तर हामीले यसबारे हेटौँडा उपमहानगरपालिका वडा नम्बर-१ का वडाध्यक्ष तथा उपमहानगर प्रवक्ता सविन न्यौपानेलाई यो विषयको जानकारी माग्दा उनले स्थानीय सरकारले गरिखाने युवालाई सहयोग गर्न खोज्दा यस्ता टिप्पणी आएको बताए ।

एसी विलासिताको सामानमा परेको कारण यस्तो प्रतिक्रिया आएको बताउँदै उनले अहिले लागत स्टिमेट मात्र माग भएको र दिने या नदिने निर्णय भइनसकेको उनको भनाई छ ।

Leave A Reply

Your email address will not be published.