काठमाडौं । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ । करिब २ हजार प्रतिनिधि र पर्यवेक्षक सहभागी सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।
सम्मेलनको उद्घाटन भइरहँदा आगामी ३ वर्षे कार्यकालको नेतृत्वका लागि चार जनाबीच प्रतिस्पर्धा देखिएको छ । वाइसीएल नेपालका अध्यक्ष सुवोध शेर्पाली बिदा बिदाईसँगै नेतृत्वका लागि १३ जना भन्दा बढीले दाबी गरेकोमा अन्तिममा भने चारदेखि पाँच जनाको विचमा मात्रै प्रतिस्पर्धा हुने देखिएको छ ।
शुक्रबार बसेको पदाधिकारीको अन्तिम बैठकमा १३ जनाले अध्यक्षमा दाबी गरेका छन् । बैठकमा १५ जनाले उपाध्यक्षमा, चार जना महासचिवमा र केहीले उपमहासचिव, सचिव र एक जनाले कोषाध्यक्षमा दाबी गरेका छन् । सुरुमा सबैले दाबी गरे पनि प्रतिस्पर्धा हुने अवस्थामा भने चार देखि पाँच जनाको मात्रै दाबी रहने सम्भावना देखिएको छ ।
अहिले वाईसीएलमा ६१ जना पदाधिकारी छन् । त्यसलाई करिव आधा घटाएर ३५ जनाको पदाधिकारी टिम बन्दैछ । वाइसीएल नेपालमा ४० वर्षे उमेर हद लगाएका कारण केही पदाधिकारी उमेरहदका कारण स्वतः बाहिरिने अवस्था आएको छ ।
उमेरहदका कारण नबाहिरिएका पदाधिकारीबीच नै नेतृत्वका लागि प्रतिस्पर्धा हुने बढी सम्भावना छ । अहिले अध्यक्षका लागि उपाध्यक्ष केइरसिंह कुँवर, नवराज ऐर, पुष्प ओली, डम्बर पुलामी, प्रेम श्रेष्ठ, ठाकुर सौराग र माधव बस्नेतको दाबी छ । बैठकमा १३ जनाले अध्यक्षका लागि दाबी गरे पनि अन्तिममा कुँवर, पुलामी, ऐर, ओली र बस्नेतबीचमा प्रतिस्पर्धा हुने सम्भावना छ । ओली र कुँवर लुम्बिनी, ऐर सुदूरपश्चिम र पुलामी कोशी प्रदेशका हुन् ।
पुलामी वाईसीएल कोशी प्रदेशका इन्चार्ज हुन् भने कुँवर उपाध्यक्षको टीममा वरिष्ठ हुन् । उपाध्यक्षबाट अध्यक्षको दाबी गर्ने उनी एक्ला उम्मेदवार हुन् । अरु उपाध्यक्ष उमेरका कारण बिदा हुदैँछन् ।
ऐर सुदूरपश्चिमबाट अध्यक्षमा दाबी गर्ने पहिलो हुन् । उनी सबैभन्दा कम उमेरका युवा र सक्रिय पनि मानिन्छन् । लुम्बिनीका ओली अहिले उपमहासचिव रहेकाले उनी पदाधिकारीमा दोस्रो बरिष्ठ तहका उम्मेदवार हुन् । उनी वाईसीएलको प्रचार प्रसार विभाग प्रमुख भएर काम गरिरहेका छन् ।
पुलामी कोशी प्रदेशको वाईसीएल इन्चार्ज हुन् । माओवादीको जनमुक्ति सेनाबाट वाईसीएलमा आएका पुलामीको तल्लो तहमा राम्रो रहेको बताइन्छ ।
सम्मेलनले सर्वसम्मत नेतृत्व चयन गर्न सकेको अवस्थामा कुँवर, पुलामी र ओली मध्ये एक जना अध्यक्ष चयन हुने सम्भावना छ । अध्यक्ष कुँवर, पुलामी र ओलीमा एक जना हुँदा दुई जना उपाध्यक्ष बनाउने र ऐरलाई महासचिव बनाउने तयारी पनि भइरहेको छ । महासचिवमा अहिलेसम्म हरि ढकाल, सन्तोष पनेरु, शिव बोगटी, धनकुमार मैनाली, शोभाराम भण्डारी, कुमार आचार्य र शंकर पौडेलको दाबी छ । यद्यपी महासचिवमा ढकाल पनि बलियो उम्मेदवारका रुपमा प्रस्तुत भइरहेका छन् ।
उपाध्यक्षमा सुनील सुनार, मोहित विक, मनिषा चदारा, शर्मिला तामाङ, अनु कुँवर, रीतमान पुन, अखिल शाही, नवीन खड्का, अविलास लामा, अर्जुन साउद लगायतको दाबी छ । यस्तै उपमहासचिवमा शिला नेपाली, अनन्तप्रकाश श्रेष्ठ, सानन अधिकारीको दाबी छ । कोषाध्यक्षमा भने एक जना राजीव गिरीको मात्रै दाबी छ । शुक्रबारको अन्तिम पदाधिकारी बैठकमा गिरीको मात्रै कोषाध्यक्षमा दाबी थियो ।
पार्टी अध्यक्ष प्रचण्ड, बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्मा गरेर तीन जना नेताले आआफ्नो पक्षबाट वाईसीएलको नेतृत्वमा ल्याउन खोजिरहेका छन् ।
जसमा अहिले प्रचण्डको पक्षबाट ओली, कुँवर, पुलामी र बस्नेत गरेर चार जना उम्मेदवार छन् । प्रचण्डपक्षमा पुलामी, ओली र कुँवरबीच नै प्रतिस्पर्धा रहेको बताइन्छ । यसमा इन्चार्ज रामप्रसाद सापकोटाको पनि महत्वपुर्ण भूमिका रहेको बताइन्छ ।
बरिष्ठ उपाध्यक्ष श्रेष्ठको पक्षबाट एक जना प्रेम श्रेष्ठ अध्यक्षका उम्मेदवार छन् । उपाध्यक्ष श्रेष्ठ निकट श्रेष्ठले पनि अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन् । उपमहासचिव शर्मा पक्षमा अध्यक्षमा नवराज ऐर र गणेश शाही दुई जना अध्यक्षका आकांक्षी छन् ।
शाही अहिले महासचिव छन् । यद्यपी उनीहरु दुबै जनाले आफुहरु शर्माको समूहमा नरहेको दाबी गर्ने गरेका छन् । पछिल्लो समय प्रचण्ड समूहसँग हरेक जनसंगठनमा प्रतिस्पर्धा गर्दै आएको शर्मा समूहले वाईसीएलमा पनि प्रतिस्पर्धा गर्ने आन्तरिक तयारी गरिरहेको छ ।
महासचिवका अधिकांश उम्मेदवार प्रचण्ड पक्षमा भए पनि पनेरु भने पार्टी बरिष्ठ उपाध्यक्ष श्रेष्ठ पक्षका हुन् । निर्वाचन नै हुने अवस्था आएमा अध्यक्ष प्रचण्ड पक्षले लिएमा महासचिव श्रेष्ठ पक्षले पाउने सम्भावना बलियो रहेको बताइन्छ ।
यदि सर्वसम्मत नेतृत्व चयन गर्न तयार भएमा अध्यक्ष प्रचण्डपक्ष र महासचिव शर्मापक्षलाई दिने गरी पनि आन्तरिक रूपमा छलफल भइरहेको बताइन्छ । वाईसीएलको ४३ वर्षको इतिहासमा यो तेस्रो राष्ट्रिय सम्मेलन हो ।
पहिलो राष्ट्रिय सम्मेलनबाट गणेशमान पुन अध्यक्ष र दिलीप प्रजापति महासचिव भएका थिए । दोस्रो राष्ट्रिय सम्मेलनबाट रामप्रसाद सापकोटा र महासचिवमा शेर्पाली चुनिएका थिए । त्यसभन्दा पछि भेलाबाटै नेतृत्व चयन हुँदै आएका छ । शेर्पाली पनि २०७९ मा भेलाबाटै अध्यक्ष चयन भएका थिए ।