काठमाडौं । आज विश्व औलो दिवस हो । यस अवसरमा विश्व स्वास्थ्य सङ्गठनले औलो उन्मूलनका निम्ति नीतिगत व्यवस्थाका साथ अझ सशक्त ढङ्गले अघि बढ्न विश्वका सबै देशका सरकार तथा सम्बद्ध निकाय आह्वान गरेको छ ।
सङ्गठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले दृढ राजनीतिक प्रतिबद्धता, दिगो लगानी, बहुक्षेत्रीय कार्य र समुदायको संलग्नताबाट औलो उन्मूलन गर्न सकिने बताएका छन् ।
अन्तरराष्ट्रिय प्रतिनिधि दिवस पनि आजै हो । दोस्रो विश्वयुद्धपछि आजकै दिन अर्थात् २५ एप्रिल १९४५ मा विश्वमा शान्ति पुनःस्थापित गर्ने र युद्धपछिको विश्व व्यवस्थालाई विधिको शासनअनुरुप अघि बढाउने उद्देश्यका साथ सान फ्रान्सिस्को सम्मेलनको प्रथम वार्षिकोत्सवका रूपमा यो दिवस मनाइन्छ । यसलाई अन्तरराष्ट्रिय सङ्गठनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन पनि भनिन्छ ।
उक्त सम्मेलनबाट संयुक्त राष्ट्रसङ्घ स्थापनाको बिजारोपण भएको हो । दुई महिनासम्म सञ्चालन भएको उक्त सम्मेलनमा ५० देशका ८५० प्रतिनिधि सहभागी थिए ।
संयुक्त राष्ट्रसङ्घमा सदस्य राष्ट्रका प्रतिनिधि र उनीहरूको भूमिका बारेमा जागरूकता बढाउन सन् २०१९ मा राष्ट्रसङ्घीय महासभाले २५ अप्रिललाई अन्तरराष्ट्रिय प्रतिनिधि दिवसका रूपमा घोषणा गरेको हो ।