Take a fresh look at your lifestyle.

बन्द प्रशिक्षणका लागि भैरहवा पुग्याे २६ सदस्यीय राष्ट्रिय महिला क्रिकेट टाेली

रुपन्देही । इन्दु वर्माको कप्तानीमा रहेको राष्ट्रिय महिला क्रिकेट टीम १८ दिने प्रशिक्षणका लागि रुपन्देहीको भैरहवा आएको छ । बन्द प्रशिक्षणका लागि शनिबार नेपाली राष्ट्रिय महिला क्रिकेट टोली भैरहवा आएको हो ।

महिला क्रिकेट टोलीलाई रुपन्देही क्रिकेट संघले भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा स्वागत गरेको छ । आगामी मे महिनामा हुने विश्वकप एसिया छनोट खेलको तयारी गर्न बन्द प्रशिक्षणका लागि महिला क्रिकेट टीम भैरहवामा आएको रुपन्देही क्रिकेट संघका कोषाध्याक्ष निरजप्रताप खाणले जानकारी दिए ।

महिला राष्ट्रिय क्रिकेट टीमको यो दोस्रो चरणको प्रशिक्षण हो ।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को कार्यक्रमअनुसार मे महिनामा थाइल्यान्डमा एसिया क्षेत्रको छनोट खेल हुँदैछ । यसको तयारीस्वरुप यसअघि पहिलो चरणको बन्द प्रशिक्षण भइसकेको छ ।

दोस्रो चरणमा भैरहवामा बन्द प्रशिक्षण हुन लागेको नेपाल क्रिकेट संघका क्रिकेट अप्रेसन म्यानेजर विनोदकुमार दासले बताए ।

बन्द प्रशिक्षणमा २६ सदस्यीय महिला क्रिकेट टोली सहभागी हुनेछ ।

भैरहवामा बैशाख १७ गतेसम्म बन्द प्रशिक्षण चल्नेछ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा हुने बन्द प्रशिक्षणपछि नेपाली टीम थाइल्यान्ड प्रस्थान गर्नेछ ।

रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले राष्ट्रिय टीमको बन्द प्रशिक्षण भैरहवामा हुँदा यसले रुपन्देही र आसपासको क्रिकेट क्षेत्रमा नयाँ उत्साह ल्याउने बताए ।

‘सिद्धार्थ रंगशाला पछिल्लो समय राष्ट्रिय टीमको बन्द प्रशिक्षणका लागि रोजाइ बनेको छ’, उनले भने, ‘निरन्तर राष्ट्रिय पुरुष र महिला टीमको बन्द प्रशिक्षण भइरहँदा भोलिका दिनमा यहाँको मैदानको विकासमा समेत सरकारको ध्यान बढी केन्द्रित हुने हाम्रो विश्वास छ ।’

Leave A Reply

Your email address will not be published.