काठमाडौं । ललितपुरको पाटन संयुक्त क्याम्पसमा स्ववियु निर्वाचनको सुनिश्चितताको माग गर्दै अखिल क्रान्तिकारी रिले अनसनमा बसेको छ । पाटन क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित भएपछि अखिल क्रान्तिकारीले रिले अनसन सुरु गरेको हो ।
अखिल क्रान्तिकारी पाटन क्याम्पस कमिटीका उपाध्यक्ष एबं स्ववियु निर्वाचनमा सचिव पदका उम्मेदवार टीकाराम खत्री सोमबारदेखि रिले अनसनमा बसेका हुन् ।
निष्पक्ष र धाँधलीरहित स्ववियु निर्वाचन गर्न,शान्ति सुरक्षा कायम गर्न र तत्काल स्ववियु निर्वाचनको मिति सार्वजनिक गर्न तीन बुँदे माग राख्दै उनले अनसन सुरु गरेको हो । खत्री अखिल क्रान्तिकारीको दीपक राना मगरको प्यानलबाट सचिव पदका उम्मेदवार हुन् ।
चैत ५ गते पाटन क्याम्पसमा भर्ना भएको सबै विद्यार्थीको नाम भोटर लिस्टमा नभएको देखिएपछि विवाद चर्किएको थियो । भोटर लिस्टको नाम र भोटर कार्ड पनि फरक फरक भेटिएको र भोटर कार्डमा वास्तविक विद्यार्थीको फोटो नभएर अरू मान्छेको फोटो रहेको पनि भेटिएपछि विवाद भएको थियो ।
फर्जी भोटरहरु खारेज हुनुपर्ने मागसहित अखिल क्रान्तिकारी र अखिलले माग गरेका थिए । चुनावको दिन यही विषयहरूमा विवाद चर्किदा सत्ता पक्षिय अखिल र नेविसंघबीच कुटाकुटै भएको थियो । चुनाव यथासिघ्र गराउनुपर्ने क्रान्तिकारीको माग छ ।