Take a fresh look at your lifestyle.

चितवनको १७ मध्ये दुई क्याम्पसमा मात्रै भोलि निर्वाचन हुने

0

भरतपुर । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चैत ५ गते गर्न लागेका देशभरका क्याम्पसमा हुने तयारी रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन चितवनमा भने दुई क्याम्पसमा मात्रै हुने भएको छ ।

यहाँ तीन आङ्गिक र १४ पब्लिक क्याम्पसमा स्ववियु निर्वाचनको तयारी थियो । तर, मौन अवधिको पनि अन्तिम समयमा आइसकेपछि जिल्लाको सबैभन्दा ठूलो आङ्गिक क्याम्पस बीरेन्द्र बहुमुखी क्याम्पसले भोलिको स्ववियु निर्वाचन गर्न नसकिने जनाएपछि दुईवटा मात्रै क्याम्पसमा निर्वाचन हुने भएको हो ।

भोलि बिहान ८ बजेबाट हुने तयारी गरिएको स्ववियु निर्वाचनमा जिल्लाको एक आङ्गिक र एक पब्लिक क्याम्पसमा हुने भएको हो । जसमध्ये रामपुरमा रहेको चितवन इन्जिनियरिङ क्याम्पस र पश्चिम चितवनमा रहेको शहिद स्मारक कलेज शारदानगरमा मात्रै निर्वाचन हुन लागेको हो । पूर्वी चितवनमा रहेको वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा यसअघि नै सर्वसम्मत नेतृत्व चयन भइसकेको छ ।

निर्वाचनको प्रकृया सबै अगाडि बढाइएका अन्य क्याम्पसहरुमा भने जिल्लामा रहेका नेपाल विद्यार्थी संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बाहेकका विद्यार्थी संगठनले पब्लिक क्याम्पसहरुमा ताला लगाएका कारण निर्वाचन रोकिएको हो ।

पब्लिक क्याम्पस संघ चितवनका सचिव तथा सप्तगण्डकी क्याम्पसका क्याम्पसप्रमुख खीमलाल दाहालले एक क्याम्पस बाहेक अन्यमा पाँच विद्यार्थी संगठनले ताला लगाएका कारण भोलि निर्वाचन गराउन सकिने अवस्था नरहेको बताए । ‘हामी निर्वाचन गराउन तयारी अवस्थामा थियौँ, उनले नेपाल प्रेससँग कुरा गर्दै भने, ‘यही अवस्थामा भोलिको निर्वाचन गराउन सकिँदैन ।

त्यसैगरी वीरेन्द्र बहुमुखी क्याम्पसका निर्वाचन संयोजक देवीप्रसाद पौडेलले पनि अन्तिम समयमा आएर निर्वाचन गराउन नसक्ने अवस्था आएको बताएका छन् । उनले केहीबेरअघि विज्ञप्ती निकालेर विद्यार्थी संगठनले लगाएको तालाबन्दीका बावजुद पनि निर्वाचन कार्यतालिका अनुसार निर्वाचन समितिले काम गरिरहे पनि अन्तिम अवस्थामा आएर निर्वाचन गराउन नसकिने अवस्था आएको बताएका छन् ।

गत २८ गते तीन विद्यार्थी संगठनको मनोमानी भएको आरोप लगाउँदै पाँच विद्यार्थी संगठनले कलेजहरुमा ताला लगाएका थिए । प्रहरी प्रशासनको सहयोगमा वीरेन्द्र बहुमुखी क्याम्पसको ताला फोडेर निर्वाचन प्रकृया अगाडि बढाउने तयारी गरिएपनि विवाद बढ्दै गएपछि स्ववियु निर्वाचन स्थगित गरिएको हो ।

नेकपा (एकीकृत समाजवादी)निकटको अनेरास्ववियु, जसपानिकटको समाजवादी विद्यार्थी युनियन, विप्लव माओवादीनिकटको अखिल समाजवादी, नेकपा बहुमतनिकटको अखिल क्रान्तिकारी र लोसपानिकटको लोकतान्त्रिक विद्यार्थी संघले कलेजहरुमा स्ववियु निर्वाचन हुन नदिने भन्दै तालाबन्दी गरेका हुन् ।

उनीहरुले ‘मानोमानी ढङ्गले कार्यतालिका थोपर्नु, फर्जी भर्ना गरिएका व्यक्तिलाई मतदानमा सहभागी गराउने, वार्ता र छलफललाई उपेक्षा गर्ने र चुनावी गतिविधिका लागि उचित समय नदिनु योजनाबद्ध षड्यन्त्रको हिस्सा हो’, भन्दै तालाबन्दी गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

Leave A Reply

Your email address will not be published.