हेटौंडा । युरोपियन क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित खेल च्याम्पियन्स लिगको सेमिफाइनल समीकरण पूरा भएको छ ।
बुधवार राती भएको खेलमा १५ पटक च्याम्पियन्स लिग विजेता रहेको स्पेनिस महारथी रियल म्याड्रिडलाई पराजित गर्दै इङ्लिस क्लब आर्सनलले सेमिफाइनलमा स्थान बनाएको छ ।
पहिलो लेगमा ३-० ले लिड गरेको आर्सनलले दोस्रो लेगमा पनि २-१ को सहज जित निकालेपछि समग्रमा ५-१ को जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
गएराति नै भएको अर्को सेमिफाइनल प्रतिस्पर्धामा इटालियन इन्टर मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।
जर्मन क्लब बायर्न म्युनिखसँग बुधवार २-२ को बराबरी खेलेपछि समग्रमा ४-३ को अग्रतासहित इन्टर अन्तिम चारमा पुगेको हो ।
पिएसजी र बार्सिलोना यसअघि नै सेमिफाइनल पुगिसकेका छन्। अब सेमिफाइनलमा बार्सिलोना र इन्टर तथा पिएसजी र आर्सनलबीच प्रतिस्पर्धा हुनेछ।
यो पटक इपिएलबाट आर्सनल, ला-लिगाबाट बार्सिलोना, लिग वानबाट पिएसजी तथा सिरि एबाट इन्टर मिलानले सेमिफाइनलमा स्थान बनाएका छन् ।