काठमाडौं । १५औं महाधिवेशनको लागि पार्टीका तल्लो तहका कार्यकर्ताको भाव बुझ्न नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत हुलाकी राजमार्ग केन्द्रित अभियानमा निस्किएका छन् । महतले सप्तरीबाट हुलाकी राजमार्ग केन्द्रित अभियान थालेका हुन् ।
अभियानका क्रममा उनले पार्टीका नेता कार्यकर्तासँग भेटघाट तथा अन्तरक्रिया गर्नेछन् । सप्तरी क्षेत्र नम्बर १ ले आयोजना गरेको नेता कार्यकर्ता भेटघाट एवम् अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रवक्ता महतले पार्टीभित्र एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
पार्टीभित्रै नेताहरुलाई विपक्षी देख्ने प्रवृत्ति बढेपछि पार्टी कमजोर भएको उनको बुझाइ छ ।
प्रवक्ता महतले भने, ‘आमनिर्वाचनमा पनि रियल विपक्षीलाई आफ्नो प्रतिस्पर्धी नदेख्ने, तर पार्टीभित्रै आफ्नैलाई चाहिँ विपक्षी देखेपछि, बरु जोसुकै आओस्, यो चाहिँ नआओस् भन्ने मानसिकता देखियो । त्यसलाई सुधार गर्नुपर्छ ।’
अहिले कम्युनिष्टहरुसमेत भित्री रुपमा नमाने पनि कांग्रेसकै नीतिलाई हो भन्न बाध्य भएर हिँडिरहेको उनले बताए । उनले कांग्रेसले गरेको काम पनि प्रचार गर्न नसकेको बताए ।
प्रवक्ता महतले पार्टीको महाधिवेशन आगामी मंसिरमा नहुने बताए । उनले भने, ‘आउँदो मंसिरमा अधिवेशन हुनेवाला छैन । किनभने त्यसको तयारी नै भएको छैन । सधैं एक वर्ष त थप्ने गरेकै छ । कम्तीमा एक वर्ष त थपिन्छ ।’
उनले महाधिवेशनको समय बाँकी रहेकाले देश दौडाहमा लागेका नेताहरुलाई अहिले नै म हुँदै भन्दै नहिँड्न सुझाव दिए ।
उनले थपे, ‘अहिलेदेखि नै म हो, म हो भनेर कहीँ पुगिँदैन। त्यसले विभाजनमात्र गर्छ, म यहाँ आएर मलाई समर्थन गर्ने को को हुन सक्छन् भनेर खोज्दै हिँड्न थाल्यो भने झन् कमजोर बनाउँछ । महाधिवेशनको दुईतीन महिनाअघि महाधिवेशनमा लाग्ने हो।’
अहिले कांग्रेसमा आगामी महाधिवेशनको नेतृत्वको तयारीका लागि डा. शेखर कोइराला घोषित रुपमै देश दौडाहमा छन् । महामन्त्री गगन थापा पनि अघोषित रुपमा आफ्नो तयारी गर्दै जिल्लाजिल्लाका कार्यक्रममा पुगिरहेका छन् ।