भक्तपुर । नेकपा एमालेको भध्यपुर थिमि नगर कमिटीले आज लोकन्थलीमा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।
पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले मिसन ०८४ सफल पार्न आन्तरिक एकता बलियो बनाउनुपर्ने बताए । बस्नेतले सामाजिक सञ्जालको दुरुपयोग गरेर एमालेमाथि विपक्षीले प्रहार गरिरहेकाले हरेक कार्यकर्ताले प्रतिवाद गर्नुपर्नेमा जोड दिए ।
‘पहिला-पहिला हतियारको युद्ध हुन्थ्यो अहिले साइबर युद्ध हुन्छ । त्यसैले एमालेका सबै कार्यकर्ता साइवर युद्धका लागि तयार भएर बस्नुपर्दछ । हामीले जवाफी कारबाहीमात्र हैन गलत प्रवृतिका ठाउँमा आफूले पनि प्रहार गर्नुपर्दछ’, उनले भने ।
प्रविधिले आम मानिसको दैनिकीलाई नै स्थानान्तरण गरिरहेका बेला त्यसलाई अपनाउनु एमालेका हरेक सदस्यको कर्तव्य भएको भन्दै उनले भने, ‘सामाजिक सञ्जालका कारण मानिसले भोगेको होइन, देखेको कुरालाई सत्य मान्न थाल्यो । त्यसैले पार्टीका धारणाहरु पनि सामाजिक सञ्जाल मार्फत नै आम मानिसकहाँ पुर्याउनु पर्ने भयो ।’
कमिटीमा बसेका नेता कार्यकर्ताले एमालेका विषयमा आधारभूत जानकारी राख्न बस्नेतको सुझाव छ ।
उनले थपे, ‘नवउदारवादी चरित्रका कारण रवि र बालेनजस्ता पात्र खडा भए । लोकप्रियतावादमा रमाउने यस्ता प्रवृतिका विरुद्ध एमालेले जनताको मन जित्ने कार्यक्रम ल्याउनुपर्छ ।’
भक्तपुरे दही देशैभरी बेचौं
कार्यक्रममा एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले पार्टी कामका अतिरिक्त हरेक नेता कार्यकर्तालाई उत्पादनमा जोडिन आग्रह गरे । भक्तपुरको दहीलाई देशैभरी पुर्याउनुपर्नेमा उनको जोड थियो ।
‘भक्तपुरको दही देशैभरी चर्चित छ । यसको प्रचार गरिरहनु पर्दैन, यसको उत्पादन बढाउँ । देशैभरी बजारीकरण गरौं । भक्तपुरको समृद्धि दहीबाटै सम्भव छ । पोखरा, चितवन, झापा, बुटवल, नेपालगञ्ज, धनगढीजस्ता सहरी क्षेत्रमा तत्कालै पठाउन किसानलाई उत्साहित गर्न योजना ल्याऔं’, ढुंगेलले भने ।
अधिवेशनमा पद पाउनका लागि लर्को लाग्ने तर बैठकमा कोरम नपुग्ने समस्या एमालेमा देखिनु स्वाभाविक नभएको उनले बताए ।
विकासको बारेमा जानकारी नै नभएका उम्मेदवारले निर्वाचन जित्ने कुरालाई ०८४ मा सच्याउनुपर्ने ढुंगेलको भनाइ छ ।
‘भक्तपुरबाट डोकोमा साग बोकेर काठमाडौं जानुपर्ने बाध्यता हामीले हटायौं । गाउँ-गाउँ टोल टोल सडक निर्माण हामीले गर्यौं, तर यही ठाउँबाट महेश बस्नेतहरूले चुनाव हार्ने कुरा जायज होइन । एमालेले गरेका कामको प्रचार हरेक घरघरमा गरौं । मिसन ०८४ मा नेमकिपा र कांग्रेस होइन एमालेले जित्ने वातावरण बनाउन आजैबाट लागौं’, उनको भनाइ छ ।
कार्यक्रममा आईटी विज्ञ अफ्जल मियाले पार्टी सदस्यता भर्ने तरिका, एमाले एप डाउनलोड गर्ने तरिका र आफ्नो विवरण चर्ने तरिका सिकाएका थिए ।
मोवाइल एप डे मनाउने घोषणा
कार्यक्रममा एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले प्रविधिलाई पार्टीको पक्षमा सदुपयोग गर्न आम कार्यकर्ता तयार रहनु पर्ने बताए । एमालेले विकास गर्ने जस अरुले लिने अवस्थाको आजैबाट अन्त्य गर्नुपर्ने भन्दै देउजाले प्रविधिलाई पार्टी हितमा प्रयोग गरेर मात्र मिसन ०८४ मा सफल हुने बताए ।
भक्तपुरमा ७ हजार पार्टी सदस्य भए पनि ४ सयजनाले मात्र मोवाइल एप डाउनलोड गरेकोले त्यसलाई शतप्रतिशत पुर्याउने भन्दै अब कुनै दिनलाई मोवाइल एप डे घोषणा गर्ने उनको भनाइ छ ।
मध्यपुरथिमी नगर कमिटी अध्यक्ष सूर्यलाल श्रेष्ठले एमालेको सदस्य भइसकेपछि निश्चित कर्तव्य र जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए ।