काठमाडौं । अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १५० औं महासभामा निर्वाचित राष्ट्रियसभा सदस्य डा. अन्जान शाक्य र प्रतिनिधिसभा सदस्य सोभिता गौतमलाई राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बधाई दिएका छन् ।
राष्ट्रियसभाको अठारौँ अधिवेशनको आज भएको दोस्रो बैठकका क्रममा दाहालले सांसद शाक्य र गौतम दुबैलाई बधाईज्ञापन गर्दै ज्ञापन गर्दै भविष्यमा उक्त समितिहरुमा नेपालका तर्फबाट सक्रिय सहभागिता र योगदान दिने विश्वास व्यक्त गरे ।
एसिया-प्रशान्त क्षेत्रको तर्फबाट नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रियसभा सदस्य डा. शाक्य आईपीयूको दिगो विकास स्थायी समितिमा विजयी भएकी थिइन् । त्यस्तै स्थायी समितिको सञ्चालक समितिअन्तर्गत विभिन्न समितिहरुमध्येको एक स्वास्थ्य समितिमा प्रतिनिधिसभा सदस्य गौतम छनोट भएकी थिइन् ।
आईपीयुको १५० औं महासभाबाट नेतृत्व लिएका सांसदहरु डा. शाक्य र गौतमलाई सभामुख देवराज घिमिरेले यसअघि एक कार्यक्रम गरेर स्वागत तथा सम्मान गरेका थिए ।
शाक्यले माल्दिभ्स र इरानका दुई उम्मेदवारलाई पछि पार्दै उज्ज्वेकिस्तानको राजधानी ताश्केन्टमा भएको सम्मेलनमा नेपालबाट प्रतिनिधित्व गर्दै विजयी भएकी थिइन् । एसिया-प्रशान्त क्षेत्रबाट ३६ देशको प्रतिनिधित्व रहेको थियो ।