काठमाडौं । नेपाली कांग्रेसले नेपाल राष्ट्र बैंकको गभर्नर सत्ता साझेदार दल नेकपा एमालेसँगको सहमतिमा चाँडै नियुक्त हुने बताएको छ ।
आज बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा सभापति शेरबहादुर देउवाले सहमतिमा चाँडै नै गभर्नर नियुक्त हुने बताएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
सभापति देउवाको भनाई उदृत गर्दै उनले भने, ‘गभर्नरको विषय निकै ढिला भएकोमा चासो प्रकट भएको छ । चाँडै टुंगो लाग्छ । व्यवसायिक व्यक्तिको हातमा जानुपर्यो भनेका छौं । त्यसको चाँडो निर्णय हुन्छ । सहमतिबाट निर्णय हुन्छ ।’
प्रवक्ता महतले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको संरचना निर्माणलाई चाँडो टुंगो लगाउनुपर्ने विषयमा छलफल भएको बताए ।
उनले भने, ‘टीआरसी कमिसन टुंगो लगाउनुपर्ने अवस्था छ । कानून टुंगो लगायौँ तर अझै पनि संरचना नबन्नाले काम अगाडि बढेको छैन । यसलाई चाँडो टुंगो लगाउनुपछ भन्ने निष्कर्ष छ । सबै दलसँग छलफल गरी निष्पक्ष ढंगबाट सत्य निरुपण र मेलमिलापको टुगो लगाउनुपर्छ भन्नेमा सबै एकमत छौँ ।’
यस्तै, रिक्त रहेका संवैधानिक निकायमामा पदपूर्ति गर्ने विषयलाई पनि सरकारले प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने निष्कर्ष बैठकले निकालेको छ ।
यस्तै सबैलाई न्याय हुनेगरी शिक्षा विधेयकलाई पनि चाँडो टुंगोमा पुर्याउनुपर्ने विषयमा पनि छलफल भएको उनले बताए ।