काठमाडौं । शिक्षकहरूले गरिरहेको आन्दोलनबारे अर्थमन्त्री विष्णुप्रसाद पौडेलले असन्तुष्ट पोखेका छन् । बुधवार अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले वार्ताको माध्यमबाट समाधान हुनुपर्ने विषयलाई लिएर शिक्षकहरू आन्दोलनमा आएको बताएका हुन् ।
अर्थमन्त्री पौडेलले भने, ‘शिक्षकहरू आन्दोलनमा आउनु भयो । सरकारले उहाँहरूलाई सम्मानपूर्वक नै सम्बोधन गर्दै आएको छ । यो सरकारले शिक्षकका वा अन्य कुनै पनि समुदायका समस्या सुन्छ । समाधान गर्ने सामथ्र्यसम्मको सीमाभित्र रहेर समाधान गर्न पहल पनि गर्छ । त्यस कारण ज्ञापन पत्र, मागपत्र र वार्ताको माध्यमबाट पनि यो समस्याको समाधान गर्न सकिन्थ्यो । प्रधानमन्त्री, शिक्षामन्त्री समक्ष हाम्रा यी मागहरु छन् यसलाई पुरा गरिदिनु भनेर पनि जान सकिन्थ्यो । खैर उहाँहरू आन्दोलनमा आउनु भयो ।’
आन्दोलनको शुरुदेखि नै सरकारले वार्तामा आउनु जोड गरेको उनले दाबी गरे । सरकारले वार्तामा बोलाउँदा समेत शिक्षकहरू नआएको बताउँदै उनले भने, ‘वार्ताका बोलाउँदा उहाँहरू वार्तामा आउनु चाहनु भएन । औपचारिकरुपमा आउनु हुन्न भने अनौपचारिकरुपमा नै भएपनि के गर्ने भन्नेबारे कुराकानी त हुनु नै पर्यो । सोही अनुसार अनौपचारिक तरिकाले यो तहसम्म जान सकिन्छ भनेर छलफल पनि भयो । यसका शिक्षामन्त्री, म र गृहमन्त्री पनि यस विषयमा लागेका छौँ । उहाँहरूका मागहरू के के सम्बोधन गर्न सकिन्छ भनेर हामीले अनौपचारिकरुपमा छलफल पनि गरेका थियौ । सरकारले माग पुरा गर्छ र उहाँहरूले आन्दोलन फिर्ता लिनु हुन्छ भनेर अगाडी बढेका थियौँ । विधेयक चालू अधिवेशन मार्फत अगाडी बढाउने भनेका थियौँ ।’
अहिले पनि सरकार शीघ्र सकारात्मक समाधानको पक्षमा रहेको उनले भनाई छ ।
शिक्षकहरूको आन्दोलन मार्फत राखेका मागहरू वार्ताको माध्यमबाट नै समाधान हुने उनको जिकिर छ । अर्थमन्त्री पौडेलले भने, ‘ठूला ठूला युद्धहरू त वार्ताको माध्यमबाट समाधान भएका छन् ।
शिक्षकहरूसँग पनि वार्ताकै माध्यमबाट टुङ्गिन्छ । अलिकति समय लाग्न सक्छ तर वार्ताकै माध्यमबाट समाधान हुन्छ ।’