काठमाडौं । सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले शिक्षकहरुको माग सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन् ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै परिस्थिती जटिल रहेको भन्दै शिक्षकहरुले पनि मेरो गोरुको बाह्रै टक्का गर्न नहुने बताए ।
उनले भने, ‘एसइईको उत्तरपुस्तीका जाँच भएन भने हामीले बेलैमा रिजल्ट ल्याउन सक्दैनौं । समयमा ल्याउन सकिएन भने प्लस टू भर्नाको समय बितिसकेको हुन्छ त्यसले उनीहरुको भविष्य बर्बाद हुन्छ । त्यो जाँच गर्नुपर्छ, विद्यार्थी भर्नाको समय सुरु भएको छ । शिक्षकहरुले त्यो काम गर्नुपर्छ। प्लस टूको परिक्षामा सहभागी भएर सरकारलाई सघाउँनुपर्यो । तपाईंहरुको माग सम्बोधन गर्न सरकार तयार छ ।’
उनले शिक्षकहरुले सरकारको अनुरोधनलाई नसुनेको बताए । उनले सरकारलाई असहयोग हुँदै गए त्यसको नतिजा राम्रो नहुने चेतावनी दिए ।