काठमाडौं । रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा १५ दिनभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) चुनाव गराउन अदालतले आदेश दिएको छ ।
नेविसंघका सदस्य उम्मेदवार रविनराज खत्रीको रिटमा पाटन उच्च अदालतका श्यामकुमार भट्टराई र टीकाराम आचार्यको संयुक्त इजलासले आज अन्तरिम आदेश दिएको हो ।
यसअघि आरआरको स्ववियू चुनाव गत चैत १६ गते तोकिएकोमा स्थगित भएको र त्रिविको स्ववियू चुनावसम्बन्धी निर्देशिका २०८१ को दफा १२ (८) ले निर्धारण गरे बमोजिम १५ दिनभित्र निर्वाचन गर्ने गरी मिति तोक्नुपर्नेमा सो नदेखिएको अदालतको भनाइ छ ।
चुनाव नगर्ने गरी चैत १८ मा गरेको निर्णय कार्यान्वयन नगरी यथाशीघ्र मिति तोक्न पनि अदालतले आदेश दिएको छ ।