Take a fresh look at your lifestyle.

दाङका नेता भन्छन्- गणतन्त्र विरोधी गतिविधिको डटेर प्रतिवाद गर्छौं

दाङ । गणतन्त्रका विरुद्धमा राजावादीहरुको चलखेल सुरु भइरहँदा गणतन्त्रको सुदृढीकरणका लागि डटेर प्रतिवाद गर्ने यहाँका राजनीतिक दल र अधिकारकर्मीले सामूहिक प्रतिबद्धता जनाएका छन् ।

प्रेस चौतारी नेपाल दाङले आज गरेको ‘गणतन्त्र सुदृढीकरणका सवालहरू’ विषयक प्यानल डिस्कसन कार्यक्रममा बोल्दै राजनीतिक दल र नागरिक समाजका प्रतिनिधिहरुले एउटै मञ्चबाट भने, ‘गणतन्त्र नेपाली जनताको संघर्ष र बलिदानको प्रतिफल हो । कसैले आवाज उठाएकै भरमा गणतन्त्र कमजोर बन्न सक्दैन । प्राप्त उपलब्धी गुम्न दिँदैनौं ।’

कार्यक्रममा बोल्दै संविधान सभा सदस्य एवं नेपाली कांग्रेसका महासमिति सदस्य अनिता देवकोटाले कानुन निर्माणमा ढिलाइ भएकै कारण निरासा उत्पन्न भएको बताइन् । गणतन्त्रको विकल्पमा गणतन्त्र नै भएको बताउँदै उनले राजतन्त्रको माग बेमौसमी बाजा भएको टिप्पणी गरिन् ।

नेकपा एमालेका केन्द्रीय सदस्य जीवन गौतमले गणतन्त्रले आम जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याएको दाबी गरे । जनजीविकाको क्षेत्रमा उल्लेख्य कार्य भएको भन्दै उनले केही भएन भन्ने भ्रम फैलाउन देशीविदेशी शक्तिहरुको चलखेल बढेकाले यसलाई निस्तेज पार्न सबै लाग्नुपर्ने बताए ।

‘गणतन्त्रले जनजीविकाको सवालमा ऐतिहासिक सफलता हासिल गरेको छ । केही भएन भनेर भ्रम फैलाउने शक्तिहरुकै कारण चौतर्फि निरासा उत्पन्न भइरहेका छन् ।’

गौतमले भने, ‘जनताको बीचमा भ्रम फैलाउने प्रयत्न भइरहेका छन्, समयमै यसलाई रोक्नुपर्दछ । राजनीतिक शक्तिहरु एकताबद्ध भएर लाग्नुपर्दछ ।’ उनले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गरेर संबिधान कार्यान्वयन गर्नेबेला व्यवस्था विरोधी गतिविधि स्वीकार्य नहुने भन्दै राजावादीलाई टाउको उठाउन नदिने बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले लोकतान्त्रिक गणतन्त्रमा मात्रै प्रेस स्वतन्त्रता सुनिश्चित हुने बताए ।

वक्ताहरूले वर्तमानमा राजावादी शक्तिहरू सक्रिय बन्दै गएको र गणतन्त्रविरोधी गतिविधिहरू बढ्दै गएकाले परिवर्तनकारी शक्तिहरू एकजुट भएर प्रतिरोध गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपालको गणतन्त्र स्थापनाको ऐतिहासिक पृष्ठभूमि, यसको मूल्य र सान्दर्भिकता, गणतन्त्रमाथि भइरहेका प्रहार, तथा वर्तमान अवस्था र आगामी चुनौतीहरूबारे पनि गहिरो छलफल गरिएको थियो ।

प्रेस चौतारी नेपाल दाङका अध्यक्ष सुधासुमन ढकालको अध्यक्षतामा भएको प्यानल डिस्कसन कार्यक्रमको सहजीकरण केन्द्रीय सचिवालय सदस्य लुम्बिनी इञ्चार्ज टीकाबहादुर बस्नेतले गरेका थिए ।

 

Leave A Reply

Your email address will not be published.