काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले रवि लामिछाने र बालेन शाहका अल्लारे/उत्ताउला हर्कत अशोभनीय भएको टिप्पणी गरेका छन्। रवि/बालेनहरुको उखरमाउलोलाई सत्ता गठबन्धनले राष्ट्रिय खतरा देखाउन खोजेको उनको भनाइ छ।
त्यसबारे उनले फेसबुकमा लेखेका भनाइ जस्ताको तस्तै,
चैत्र १५ गते राजावादीहरुले जे गरे त्यो आपराधिक थियो । त्यसको निन्दा–भत्र्सना हुनु पथ्र्यो, भइरहने छ । तर अहिले त्यस घटनाको प्रचार यसरी गर्न थालिएको छ ताकि राजनीतिको चुलीमा बसेर यिनीहरुले गरेका सबै नालायकी र भ्रष्टाचार आम नागरिकले भुलुन्, बरू यिनीहरुलाई उभ्याउनु पर्ने कठघरामा पनि ज्ञानेन्द्र शाह र दुर्गा प्रसाईँलाई नै उभ्याइयोस् ।
मुलुकमा गएको ७५ वर्षमा केही भएको छ । तर अहिले ‘विकास भएको’ राष्ट्रिय भाष्य निर्माण गर्न एउटा नयाँ प्रोपगण्डा जत्थालाई यसरी खटाइएको छ ताकि यिनको दलाल÷विचौलिया गिरोहले गरेको राज्यदोहनको कुन मूल्य चुकाएर मुलुकले आजको बाटो, औसत आयु, स्वास्थ र साक्षरता, मोबाइल फोनजस्ता ‘विकास’ पाएको छ भन्ने तितो यथार्थ नागरिकका दिमागबाट मेटियोस् ।
रवि लामिछाने र बालेन साहका अल्लारे÷उत्ताउला हर्कत अशोभनीय छँदै छन् तर आफ्ना पाखण्डपूर्ण मिहिनेतबाट तयार भएको सामाजिक लफङ्गाहरुको अल्लारे उत्ताउलो समुदायले अरु कसैलाई नेता मानेर आफ्नै विरुद्ध नारा लगाउन थालेपछि सत्ता गठबन्धन झस्किएको छ । रवि/बालेनहरुको उखरमाउलोलाई यस्तो राष्ट्रिय खतरा देखाउन खोजिँदैछ जसमा सत्ताधारीका पाप पखाल्न पाइयोस् ।
सङ्क्षेपमा, यिनीहरु चाहान्छन्–चन्द्र–सूर्य रहेसम्म मुलुकको यही बेरोजगारी र कुशासनमाथि आफ्नो शासन सुरक्षित रहोस् तर यिनीहरुमाथि प्रश्न नउठोस् ।वस्तुतः हाम्रो राजनीतिले प्रायश्चित्त नगर्दासम्म विद्रुप सपनाको ऐँठनले हाम्रो गणतन्त्रलाई झस्काइरहने छ । हामीले यिनीहरुको पाप बोकिरहनु र मुलुकको वास्तविक जीवनमा लोकतन्त्र आउनु असम्भव छ ।