इलाम । सांसद-मन्त्रीहरूमाथि लाग्ने गरेको साझा आरोप हो- यीनीहरू चुनावमा गरेका वाचा भोलिपल्टैदेखि बिर्सिन्छन्, चुनाव जितेपछि ५ वर्षपछि मात्र गाउँमा फर्किन्छन् । एमालेका युवा सांसद सुहाङ नेम्वाङ यो भाष्य तोड्दै यतिखेर आफ्नो चुनाव क्षेत्र इलाम-२ मा व्यस्त छन् ।
बुवा सुवासको निधनपश्चात गत वैशाख १५ मा भएको उपचुनावबाट विजयी बनेका सुहाङ अलिकति फुर्सद भयो कि मतदाताको घरदैलोमा आइहाल्छन् । अहिले संसदको हिउँदे अधिवेशन सकिएलगत्तै विभिन्न कार्यक्रमको माध्यमबाट नागरिकको समस्या नजिकबाट बुझ्न उनी इलाम आएका हुन् ।
चैत २४ गतेदेखि निर्वाचन क्षेत्रमा सामाजिक संघसंस्थाका विभिन्न कार्यक्रम साथै धार्मिक, शैक्षिक, युवा तथा खेलकुद कार्यक्रमको सेड्यूलमा व्यस्त छन् उनी । १०-१२ दिनको कार्ययोजना लिएर आएको भन्दै उनले भने, ‘सदन नचलेको र समितिको बैठक नभएको मौकामा यहाँका समस्या नजिकबाट बुझ्न आउँछु । काठमाडौंमा भएको बेला इलामकै योजना लिएर मन्त्रालय र विभिन्न सरोकारवाला निकायमा धाउने त छँदैछ ।’
मतदातासँगको भेटमा उनले सदनमा आफूले उठाएको आवाज, गरेको पहल र उपलब्धिबारे सुनाउँछन् ।
सुहाङको व्यक्तिगत ‘क्रेज’ गाउँमा राम्रैसँग देखिन्छ । लुवाइदेखि हँसाइ बोलाइ सबैमा बुवा सुवासको झल्को आउने भन्दै बुढाबुढीहरू भावुक बन्छन् । सेलिब्रिटी भेटेजसरी हात मिलाउन, फोटो खिचाउन उनीसँग अधिकांश आतुर देखिन्छन् । सुहाङले पनि भ्याएसम्म सबैलाई रेस्पोन्स गर्छन् ।
इलाम र देउमाइका प्राय सबै वडामा भेटघाट सकिएको र अझै केही दिन रहने उनले सुनाए । अधिकांशले पुल, सडक, बिजुली र उद्यम तथा रोजगारीको माग गर्ने गरेको सुहाङ बताउँछन् ।
‘सीमित स्रोत-साधनको बाध्यता उहाँहरूले राम्रोसँग बुझ्नुभएको छ । बिस्तारै आवश्यकता र प्राथमिकताको आधारमा योजना समावेश हुने कुरामा कन्भिन्स हुनुहुन्छ’, उनले भने ।
२४ गते फाकफोकथुम गाउँपालिका-५ लुम्देमा भएको महोत्सवमा पुगेका उनले त्यहाँ सम्बोधन गरे । त्यसपछि सोयाक देउमाईका मतदातासँग प्रत्यक्ष साक्षात्कार गरे । जनताका मागलाई डायरीमा टिपेर प्राथमिकीकरण गर्छन् उनी ।
शहिद रत्नकुमार वान्तावाको ७३औं जन्मजयन्ती तथा ४६औं स्मृति दिवसको दिन २७ गते बिहान रत्नको शालिकमा माल्यार्पण कार्यक्रममा सहभागी भए उनी । सुम्बेक साप्ताहिक कृषि बजार उद्घाटन समारोहमा पनि पुगे । आइतबारसम्म इलाम नगरपालिकाका विभिन्न वडामा भेटघाट गरेर अन्य पालिकामा जाने उनको योजना छ ।
आफ्नो गाउँठाउँको विकासमा सांसद साथ-सहयोग रहनेप्रति आशावादी रहेको बताउँदै मतदाताले पनि नेम्वाङलाई सदा साथ र आशीर्वाद रहने ढाडस दिइरहेका छन् ।