काठमाडौं । राप्रपा नेपालले तीनकुने घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न माग गरेको छ ।
आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनालाई अराजक र हिंसात्मक बनाउन सरकार स्वयंले नियोजित षड्यन्त्र गरेको निष्कर्ष निकालिएको महामन्त्री राजाराम बर्तौलाले बताए ।
यस्ता छन् बैठकले गरेका ५ निर्णय
१) गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनालाई अराजक र हिंसात्मक बनाउन सरकार स्वयंले नियोजित षड्यन्त्र गरेको देखिन्छ । उक्त दिन भएको गोली काण्ड, सविन महर्जन र पत्रकार सुरेश रजकको दुःखद मृत्यु, म्याद गुज्रिएको टियरग्याँसको प्रयोग, लुटपाट, आगजनी र प्रशासनिक दमनका बारेमा निष्पक्ष छानविनको निम्ति उच्चस्तरिय न्यायिक आयोग गठन गरियोस् भन्ने राप्रपा नेपाल माग गर्दछ ।
२) चैत १५ गते कुनै अराजक गतिविधिमा संलग्न नरहेका बरु परिस्थितिलाई नियन्त्रणभन्दा बाहिर जान नदिन तथा भिडलाई संयमित हुन सार्वजनिक आह्वान गरिरहेका डा. धवलशमशेर राणा, रवीन्द्र मिश्र, पशुपति खड्का, मुनिन्द्र राजभण्डारी, आशिष तामाङलगायतका झूट मुद्दा लगाई थुनामा राखिएका सबैलाई तत्काल रिहा गर्न राप्रपा नेपाल सरकारसँग माग गर्दछ।
३) हिन्दू राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको पुनःस्थापना गर्न तथा विद्यमान भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउन डा.जगमान गुरुङको संयोजकत्वमा गठन भएको ‘संयुक्त जनआन्दोलन’ समितिलाई राप्रपा नेपालले पूर्ण रूपले सहयोग र समर्थन गर्नेछ । उक्त समितिले आयोजना गर्ने सबै कार्यक्रममा सहभागी हुन राप्रपा नेपाल पार्टीका कार्यकर्ता, सहयोगी र शुभचिन्तकहरुमा राप्रपा नेपाल आग्रह गर्दछ ।
४) अहिले योजनाबद्ध र संगठित रुपले राजा, हिन्दू राष्ट्रको मान्यता र राजसंस्थासहितको प्रजातन्त्रको विचारलाई बदनाम गर्ने, निषेध गर्ने तथा उक्त विचारका पक्षधरहरुलाई हतोत्साहित तुल्याउने षडयन्त्र भइरहेको छ । यो अवस्थामा आफ्नो विचारको प्रतिरक्षाको निम्ति सबै राष्ट्रवादी, राजावादी, हिन्दूवादी र प्रजातन्त्रवादी एकतावद्ध हुन राप्रपा नेपाल अपिल गर्दछ ।
५) डा.जगमान गुरुङको संयोजकत्वमा गठित ‘संयुक्त जनआन्दोलन’ समितिले यही चैत २७ गते बुधबार आयोजना गर्ने ‘प्रतिबद्धतासभा’लाई सफल बनाउन राप्रपा नेपालले सक्रिय सहयोग गर्नेछ । साथै उक्त सभामा सहभागी हुन सबै राष्ट्रवादी साथीहरूलाई राप्रपा नेपाल आह्वान गर्दछ ।