कैलाली । सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसहरूमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचनको नतिजामा अहिलेसम्म नेपाली कांग्रेसनिकटको नेपाल विद्यार्थी संघ (नेविसंघ) पहिलो स्थानमा आएको छ ।
१४ क्याम्पसमध्ये १२ क्याम्पसको नतिजा सार्वजनिक हुँदासम्म नेविसंघले ७ क्याम्पसमा जित हासिल गरेको छ । नेकपा एमाले निकटको अनेरास्ववियु ५ क्याम्पसमा जित हासिल गर्दै दोस्रो स्थानमा रहेको छ । माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले भने कुनै पनि क्याम्पसमा जित हासिल गर्न सकेको छैन ।
सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पससहितका १६ क्याम्पसमा निर्वाचन तोकिएको थियो । तर, केन्द्रीय क्याम्पसमा विवादका कारण चुनाव स्थगित भएको छ भने अछामको जनता क्याम्पसमा पनि चुनाव हुन सकेको छैन । बुधबार नै मतदान भइसकेका कैलाली बहुमुखी क्याम्पस र टीकापुर बहुमुखी क्याम्पसमा भने मत परिणाम सार्वजनिक भएको छैन ।
त्यसबाहेक कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेविसंघका भुवन महरा विजयी भएका छन् । महरा ४४१ मतसहित दोस्रो कार्यकालका लागि सभापतिमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी संयुक्त अखिल प्यानलका बमबहादुर विश्वकर्माले ३७८ मत प्राप्त गरेका छन् ।
बैतडीकै मणिलेक क्याम्पसमा नेविसंघ प्यानलसहित विजयी भएको छ । स्ववियु सभापतिमा नेपाल विद्यार्थी सङ्घका मनोजदत्त ओझा विजयी भएका छन् । ओझा ४८ मत ल्याएर सभापतिमा विजयी हुँदा उनका प्रतिस्पर्धी अनेरास्ववियुका सरोज भट्टले ३७ मत ल्याए ।
बैतडीको जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानीको स्ववियु सभापतिमा नेपाल विद्यार्थी सङ्घका रोशन भट्ट प्यानलसहित विजयी भएका छन् । १०१ मत ल्याएर भट्ट सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी अनेरास्ववियुका उमेश बडूले ५० मत ल्याए ।
बैतडीको पाटन बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका सञ्जय भण्डारी विजयी भएका छन् । अनेरास्ववियु र अखिल (क्रान्तिकारी)को संयुक्त प्यानलका उम्मेदवार रहेका भण्डारी १०५ मत प्राप्त गर्दै विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी जनजागरण स्वतन्त्र विद्यार्थी युनियनका गौतमप्रसाद अवस्थीले ५६ मत ल्याए ।
डडेल्धुराको त्रिवेणी बहुमुखी क्याम्पस जोगबुडाको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल नै विजयी भएको छ । सभापतिमा प्रकाश अवस्थी १६७ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका भोज लोहारले १३२ मत पाए ।
दार्चुला बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी सङ्घका प्रकाश बडू विजयी भएका छन् । बडू २२२ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी अनेरास्ववियुका खडक ठगुन्नाले १९१ मत प्राप्त गरेका छन् ।
दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका सुनिल डाँगा विजयी भएका छन् । डाँगा १०५ मत ल्याई सभापतिमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी संयुक्त प्यानलका नरेश विष्टले १०२ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार दिनेशराज पन्तले ११ मत प्राप्त गरे ।
डोटीको सीताराम बहुमुखी क्याम्पसमा पनि नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) को प्यानलै निर्विरोध निर्वाचित भएको थियो । स्ववियु सभापतिमा नेविसंघका उमेश बलायर निर्वाचित भएका थिए । बाजुरामा बडीमालिका क्याम्पसको स्ववियु सभापतिमा भने नेविसंघका सविन रावत यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।
डोटीको जोरायलस्थित घण्टेश्वर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । अनेरास्ववियुका सुरत बोहरा ६९ मत प्राप्त गरी सभापतिमा विजयी भए । उनका प्रतिस्पर्धी नेविसंघका मोहनसिंह पालीले ३४ प्राप्त गरे ।
बझाङको जयपृथ्वी क्याम्पसमा भने सभापतिमा अनेरास्ववियुका तिलकचन्द्र बोहरा विजयी भएका छन् । उनले नेविसंघका विवेकबहादुर बोहरालाई ३ मतले पराजित गरे ।
बाजुरा क्याम्पसमा अनेरास्ववियुका लक्ष्मण रोकाया यसअघि नै सर्वसम्मत सभापतिमा चयन भइसकेका थिए ।