Take a fresh look at your lifestyle.

मध्यराति प्रधानमन्त्री र सभामुखसँगको भेटपछि शिक्षक नेताहरू आशावादी

काठमाडौं । नेपाल शिक्षक महासंघका पदाधिकारीले शुक्रबार मध्यराति प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।

विद्यालय शिक्षा ऐनलाई बटमलाइन बनाएर आन्दोलनमा होमिएका शिक्षकलाई प्रधानमन्त्री ओलीले छलफलका लागि बालुवाटार बोलाएका थिए । उनले शिक्षक नेताहरूसँग आन्दोलनका एजेण्डा र समाधानका विकल्पसहित छलफल गरे ।

छलफलमा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहाचिव मदनराज जोशी सहभागी थिए ।

छलफल सकारात्मक र आाशावादी

महासंघका नेताहरूले प्रधानमन्त्रीसँगको छलफललाई सकारात्मकरूपमा लिएको बताएका छन् ।

७ बजे बालुवाटार छिरेका शिक्षक नेता र प्रधानमन्त्रीबीच राति साढे ९ बजेबाट भेटघाट सुरू भयो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार प्रधानमन्त्रीसँग करिब २ घण्टा निहीन छलफल भयो ।

प्रधानमन्त्रीले सरकारले माग सम्बोधनबारे आन्तरिक रूपमा सल्लाह गरेर निर्णय लिने साथै ऐन जारीलाई प्राथमिकतामा राख्ने आश्वस्त पारेका छन् ।

‘प्रधानमन्त्रीज्यूले गठबन्धन र संसदका सरोकार पक्षसँग छलफल गर्छु । त्यसपछि फेरि कुरा गरौंला भन्नुभएको छ’, बालुवाटार भेटबारे सुवेदीले नेपाल प्रेससँग भने ।

आन्दोलनमा आफूहरू यथावत् रहेको भन्दै ऐन टुंग्याउने दिशामा नगएसम्म कक्षा कोठा नफर्किने स्पष्ट अडान आफूहरूले राखेको सुवेदीले दोहोर्‍याए ।

‘अहिले विधेयक उपसमितिमा छ यसलाई टुंग्याउनेतर्फ जानुपर्छ । हामीसँग अहिले माग भनेकै पहिलेको सहमति कार्यान्वयन हो । तत्काल कुनै लेनदेन गर्ने गरी सहमति गरी हालौं भनेर केही राखेकै छैनौं’, उनले भने ।

प्रधानमन्त्रीबाट राम्रै कुरा आएको भन्दै अध्यक्ष सुवेदीले थपे, ‘हामी पनि ऐन ल्याउनै पक्षमा छौं । के-के कुराले वाधा व्यवधान आए भन्नुभयो । उहाँको ठाउँबाट राम्रै कुरा गर्नुभयो ।’

महासंघका महासचिव तुलाबहादुर थापाले पनि प्रधानमन्त्रीबाट ऐनमा तदारुकता दिने कुरा आएको बताए ।

‘कांग्रेस सभापति शेरबहादुर देउवा, शिक्षामन्त्रीसँग छलफल गरेर आज केही खबर गर्ने भन्नुभएको छ । उहाँहरू सकारात्मक देखिनुभएको छ’, थापाले भने ।

सभामुखसँगको भेटघाटबारे उनले भने, ‘उपसमितिमा विधेयकमाथि सकेसम्म फास्टट्रयाकमा छलफल गर्ने र बढी भन्दा बढी समय दिएर चाँडै टुंग्याउने कुरा गर्नुभएको छ ।’

विधेयक पास गर्न सबैभन्दा बढी मेहनतसँगै संवेदनशील रहेको सभामुख घिमिरेले महासंघ नेतृत्वसँग बताएका छन् । आफूले केही दिनअघि गरेको कुरालाई गलत ढंगले प्रचार गरिएको भन्दै उनले बजेट जेठ १५ मा ल्याउनुपर्ने संवैधानिक सीमाबारे प्राविधिक विषयको मात्र कुरा गरेको तर, शिक्षा ऐन ढिला आवस् भन्ने नभएको प्रष्ट्याएका थिए ।

सभामुखका प्रेस विज्ञ शेखर अधिकारी भन्छन्, ‘शिक्षा विधेयकमा सम्माननीयज्यू निकै चासोका साथ खटिइरहनुभएको छ । केही दिनअघि सचेतकहरूसँग पनि बस्नुभयो । सँगै शिक्षामन्त्री, संसदीय उपसमिति संयोजकसँगको भेटमा मिलेका विषय टुंग्याइहाल्न र नमिलेका र शीर्षस्थ तहमा राख्नुपर्ने विषय बुँदागतरूपमा जानकारी गराउन भन्नुभएको थियो ।’

आन्दोलन परिचालन समितिसहित महासंघको विस्तारित बैठक अहिले बिहान ९ बजेदेखि डाकिएको छ । प्रधानमन्त्री र सभामुखसँग भएका कुराकानी बैठकमा सबैलाई जानकारी गराइने महासचिव थापाले बताए ।

२२ बुँदे माग लिएर शिक्षक र विद्यालयका कर्मचारी चैत २० देखि राजधानी काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

सरकारले विचाराधीन विद्यालय शिक्षा विधेयक यथासक्य पारित गराउने प्रयोजनार्थ भन्दै संघीय संसदको अधिवेशन यही १२ गतेबाट आव्हान गरेको छ ।

मंगलबार साँझको क्याविनेटले महासंघले उठाएका मागहरूको यथोचित सम्बोधन गर्न सरकार संवेदनशील र गम्भीर रहेकाले विद्यालय भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षालाई ध्यान दिई आन्दोलन फिर्ता गरी विद्यालय फर्कन शिक्षकहरूलाई आव्हान गरेको थियो ।

Leave A Reply

Your email address will not be published.