काठमाडौँ । नोभेम्बर ४, २०२४ मा स्कटल्याण्डसँग आईसीसी लिग–२ अन्तर्गतको खेल खेलेको नेपाल राष्ट्रिय पुरुष क्रिकेट टोली ५ महिलापछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किँदै छ । नेपालले बुधवारदेखि हङकङमा हुने चारदेशीय टी–२०आई सिरिज खेल्नेछ ।
नेपाल प्रिमियर लिग, प्रधानमन्त्री कप, एलिट कप बहुदिवसीय क्रिकेटदेखि विभिन्न घरेलु लिग खेलेका नेपाली खेलाडी ५ महिलादेखि अन्तर्राष्ट्रिय खेलबाट टाढा थिए । बुधवारबाट सुरु हुने चारदेशीय सिरिजमा नेपाल, हङकङसहित कतार र कुवेत समावेश छन् । सिरिजमा प्रत्येक टोलीले प्रत्येकसँग खेल्नेछ । शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।
नेपालले पहिलो खेल बुधबार बिहान पौने ७ बजे कतारसँग खेल्नेछ । बिहीबार कुवेतसँग खेल्ने नेपालले शनिबार हङकङसँग खेल्नेछ । फाइनल खेल आइतबार हुनेछ ।
आईसीसी टी–२०आई वरियतामा नेपाल १७औं, हङकङ २३औं, कुवेत २४औं र कतार २८औं स्थानमा छ । चार टोलीमध्ये वरियतामा सबैभन्दा माथि छ । नेपालले यसअघि हङकङसँग ५, कतारसँग दुई र कुवेतसँग एकपटक खेलेको छ । हङकङसँगको खेलमा २ खेलमा जित र २ खेलमा हार बेहोर्दा एक खेल भने नतिजाविहीन छ । कतारसँग एक खेलमा जित र एक खेलमा हार बेहोरेको छ । कुवेतसँग एकपटक मात्रै खेलेको नेपालले जित हात पारेको छ । यसपटक पनि जित निकाल्दै सिरिज आफ्नो पक्षमा पार्ने नेपालको योजना छ ।
नेपालका महत्त्वपूर्ण खेलाडी सन्दीप लामिछाने र अनिलकुमार शाह टोलीमा नहुँदा केही नयाँ खेलाडीले स्थान पाएका छन् । शाहव आलम, बसिर अहमद, लोकेश बम र नन्दन यादव राष्ट्रिय टोलीमा मौका पाए । शाहव, बसिर, लोकेश लामो समयपछि राष्ट्रिय टोलीमा फर्किएका हुन् । भने नन्दन भने टी–२० टोलीमा पहिलो पटक स्थान बनाएका हुन् । सन् २०२२ मा ओडिआई टोलीमा स्थानका नन्दनले डेब्यु भने गर्न पाएका छैनन् । यी खेलाडीले लुम्बिनी प्रदेशमा भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
टोली मुख्य प्रशिक्षक स्टुअर्ट ल यो सिरिजमा उपलब्ध नहुँदा टोलीको प्रशिक्षकको जिम्मेवारी पूर्व कप्तान ज्ञानेन्द्र मल्लले सम्हाल्नेछन् । करिब ५ महिना घरेलु क्रिकेटमा व्यस्त रहेका नेपाली क्रिकेटर अब भने अन्तर्राष्ट्रिय क्रिकेटमा रमाउनेछन् । क्यानले सार्वजनिक गरेको क्यालेन्डरअनुसार नेपालले हरेक महिना अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ ।