काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।
गोरखा पुगेका श्रेष्ठले सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारले लामिछानेलाई आतंकित पार्ने व्यवहार देखाइरहेको भन्दै त्यसलाई रोक्न माग गरे ।
रविबारे उनको भनाइ
जुनसुकै पदमा रहेको व्यक्ति भए पनि त्यसलाई अनुसन्धान गर्नबाट रोक्न मिल्दैन, तर हामीले स्वच्छ र निष्पक्ष अनुसन्धान हुनुपर्छ भनिरहेका छौं । अनुसन्धानमा जोसुकै भए पनि दोषी देखिएपछि कारबाही हुनुपर्छ, तर दोषी नदेखिए छुट पाउनुपर्छ ।
रविजीको विषयमा पनि यही लागू हुनुपर्छ । सरकारले बलजफ्ती रातिराति आतंकित पार्ने गरी एक ठाउँबाट अर्को ठाउँमा लगिएको छ, त्यो सही होइन । त्यसमा हाम्रो आपत्ति छ ।
अहिले प्रहरी अधिकारीले नै तपाईंको अन्तिम इच्छा के छ भनेर सोधेको भन्ने कुरा आइरहेको छ । त्यो भनेको त झनै मनोवैज्ञानिक रूपमा प्रहार गर्ने कुरा हो । त्यसो गर्न मिल्दैन ।