काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको खेलकुद तथा शारीरिक सुगठन शिक्षायलयअन्तर्गत नेपाल एपीएफ क्लब र अग्नि इन्कर्पोरेटेड प्राइभेट लिमिटेडको सहकार्यमा प्रथम ‘एपीएफ महिन्द्रा स्पोर्ट्स अवार्ड २०८१’ सम्पन्न भएको छ ।
काठमाडौं हलचोकस्थित नेपाल एपीएफ क्लबको कृष्णमोहन स्मृति भवनमा शुक्रबार आयोजित समारोहमा खेलकुद क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन गर्दै संगठन तथा राष्ट्रको गौरवको लागि उल्लेखनीय योगदान पु¥याएका खेलाडी तथा अन्य खेल व्यक्तित्वहरूको सम्मान गरिएको छ ।
कार्यक्रममा गृहमन्त्री रमेश लेखक, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल, अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, अग्नि ग्रुपका प्रबन्ध निर्देशक सुजन वैद्य श्रेष्ठ, अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा, महिन्द्रा एन्ड महिन्द्राको नेपाल, भुटान र बङ्गलादेशको लागि कन्ट्रिहेड चैतन्य कागलकार, अग्नि ग्रुपका उपाध्यक्ष वेदासताशा श्रेष्ठ, अग्नि ग्रुपका अनुसन्धान तथा विकास प्रमुख वेदान्त श्रेष्ठको उपस्थिति थियो ।
उक्तल अवसरमा अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले अवार्डको माध्यमबाट खेलकुद क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन गर्दै राष्ट्रको गौरवको लागि उल्लेखनीय योगदान पुर्याएका खेलाडी तथा अन्य खेलकर्मी व्यक्तित्वहरूको कदर तथा सम्मान गर्ने उद्देश्य लिएको बताए ।
यस वर्ष सुरू भएको उत्कृष्ट खेलाडीहरूको पहिचान र सम्मान गर्ने यस प्लेटफर्मलाई आगामी वर्षमा पनि निरन्तरता दिने उनले प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा खेलकर्मीलाई सम्मान गरिएको छ । ५० हजारको नगद पुरस्कारसहित महिला फुटबल खेलाडी रेनुका नगरकोटीलाई ‘एपीएफ महिन्द्रा प्लेयर अफ द इयर २०८१ – महिला’ र ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई ‘एपीएफ महिन्द्रा प्लेयर अफ द इयर २०८१ – पुरुष’को उपाधि र सम्मान गरिएको छ ।
त्यस्तै २५ हजार नगद पुरस्कारसहित कराँते खेलाडी मोहम्मदसेखु आलमलाई ‘मस्ट पपुलर एपीएफ महिन्द्रा प्लेयर अफ द इयर २०८१– पुरुष’ र महिला फुटबल खेलाडी प्रीति राईलाई ‘मस्ट पपुलर एपीएफ महिन्द्रा प्लेयर अफ द इयर २०८१– महिला’को उपाधिसहित सम्मान गरिएको ।
‘एपीएफ महिन्द्रा टीम अफ द इयर २०८१’ उपाधीसहित ५० हजार नगद पुरस्कारबाट एपीएफ महिला फुटबल टीमलाई सम्मान गरिएको छ । ‘एपीएफ कोच अफ द इयर २०८१– पुरुष’ र ‘एपीएफ कोच अफ द इयर २०८१– महिला’को अवार्ड र जनही नगद २५ हजार पुरस्कारबाट क्रमशः फुटबल प्रशिक्षक जीवेशकुमार पाण्डे र कराँते प्रशिक्षक गङ्गादेवी अधिकारीलाई सम्मान गरिएको छ ।
त्यसैगरी ‘एपीएफ महिन्द्रा योङ प्लेयर अफ द इयर २०८१– पुरुष’ र ‘एपीएफ महिन्द्रा योङ प्लेयर अफ द इयर २०८१– महिला’को अवार्डसहित जनही २५ हजार नगद पुरस्कार अवार्डबाट क्रमशः यू– १६ फुटबल खेलाडी तेञ्जिङ शेर्पा र सावित्री किशन सम्मानित भएका छन् ।