रुपन्देही । सडन डेथमा वसन्तपुर युनाइटेड क्लब चितवनलाई हराउँदै राइजिङ स्टार युथ क्लब कपिलवस्तु बुटवलमा जारी प्रिती प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिताको अन्तिम चारमा पुगेको छ ।
सिद्धेश्वरी लालकुमारी माविको खेलमैदानमा वसन्तपुर युनाइटेड क्लब चितवन र राइजिङ स्टार युथ क्लब कपिलवस्तुबीच सोमबार भएको खेल निर्धारित समयमा १औ१ गोल भएपछि नजिताका लागि पेनाल्टी सुट आउटमा पुगेको थियो । जसमा दुबै टीमबाट ४औ४ गोल भएपछि खेल सडन डेथमा गएको थियो ।
सडेन डेथमा चितवनकी अनिता गुरुङको प्रहार कपिलवस्तुकी गोलकिपरले रोकिन् । पेनाल्टी सुट आउटका क्रममा चितवनकी सविता सुनार र कपिलवस्तुकी सिर्जना वटालाको प्रहार बाहिरिएको थियो ।
खेल सुरु भएको ५ औं मिनेटमा कपिलवस्तुले अग्रता लिएको थियो । कपिलवस्तुकी रेखा विष्टले डी-बक्समा पाएको बललाई गोलमा परिणत गरेकी थिइन् ।
कपिलवस्तुको अग्रता धेरैबेर टिक्न सकेन । चितवनकी उमा रानामगरले ३६ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पुर्याएकी थिइन् । दोस्रो हाफमा दुबैतर्फबाट कुनै गोल हुन सकेन ।
आजको विजेता कपिलवस्तुले चैत २७ गते आयोजक बीस पचहत्तर युवा परिवार बुटवलसँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।
खेलमा कपिववस्तुकी जस्मिन महतो प्लेयर अफ दी म्याचबाट पुरस्कृत भइन् । मंगलबार प्रतियोगिताको अन्तिम क्वाटरफाइनल हेटौंडा फुटबल एकेडमी मकवानपुर र एमएससी मणिपुर भारतको टीमबीच खेल हुने आयेजक क्लबका सचिव दीपक गुरुङले जानकारी दिए ।
बीस पचहत्तर युवा परिवार बुटवलको आयोजना तथा प्रिती चाउचाउको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद ५० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र पाउनेछन् ।
यसैगरी विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँसहित कप तथा ४ जना उत्कृष्ट खेलाडीहरुलाई नगद १० हजारसहित कपबाट पुरस्कृत गरिनेछ ।