काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालत तुल्सीपुरले सुनाएको निर्णयमाथि पुनरावेदन गर्ने निर्णय गरेको छ । रविलाई पक्राउ गरिएलगत्तै हिजो मध्यरातमा बसेको पार्टी सचिवालयको भर्चुअल वैठकले सो निर्णय गरेको हो ।
वैठकको पहिलो निर्णयमा भनिएको छ, ‘उच्च अदालत तुलसीपुर बुटवल इजलासले पार्टी सभापति रवि लामिछानेज्यूको सम्बन्धमा जुन निर्णय गरेको छ, त्यो निर्णयलाई कानुनको एक तहको निर्णयको रूपमा बुझ्दै, पार्टी सभापति रवि लामिछानेज्यूले आफ्नो भिडियो सन्देशमा भन्नुभएझैं, अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्ने। साथै, अदालत, संविधान र कानुनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने।’
बैठकले पक्राउ पूर्जिबिनै सभापति लामिछानेलाई पक्राउ गर्न आएको र घरको बेडरूमभित्र पसेर प्रहरीले पूर्जी बनाएकोप्रति भर्त्सनासमेत गरेको छ । विधिको शासनमा यो क्षम्य हुन नसक्ने भन्दै रास्वपाले नागरिकको घरभित्र छिरेर कानुनी कागजात बनाउने गैरसंवेदनशील र गैरकानूनी कुराको भर्त्सना गर्ने जनाएको हो ।
आज चितवनको भरतपुरमा आयोजना हुन लागेको जनयात्रा शुभारम्भ सभालाई भव्यरूपमा सफल पार्ने निर्णय पनि वैठकले गरेको छ ।
निर्णयको तेस्रो बुँदामा भनिएको छ, ‘राज्यले विवेक गुमाएको बेला हामीले विवेक गुमाउनु हुँदैन र हामीले गर्ने सभा शान्त र सौम्य हुनुपर्छ भन्ने सभापतिको निर्देशनबमोजिम सभालाई शान्तिपूर्ण बनाउन तथा हुन सक्ने सम्भावित घुसपैठ, चलखेल तथा बिथोल्ने प्रयासहरू रोक्नका लागि सबै सदस्यहरूलाई सचेत, संयमित र गम्भीर रहन निर्देशन दिने।’