रुपन्दही । रुपन्देहीको भैरहवामा मुलुकमै पहिलो पटक पूर्वमहिला क्रिकेट खेलाडीहरुबीच ‘महिला लेजेन्ड टी- २० सिरिज’ सुरु भएको छ । नेपालमा पुरुष लेजेन्ड क्रिकेट हुँदै आए पनि महिला लेजेन्ड भने पहिलो पटक आयोजना भएको हो ।
सन् २००७ र २००९ मा खेलेका पूर्वराष्ट्रिय र अन्तर्राष्ट्रिय महिला खेलाडीहरुको छुट्टाछुट्टै टीम बनाएर सिरिज आयोजना गरिएको हो । सोमबार सिद्धार्थ क्रिकेट मैदान भैरहवामा भएको खेलमा सन् २००९ को लेजेन्ड महिला टीम ५ विकेटले विजयी भयो ।
जितका लागि पाएको ८३ रनको लक्ष्य सन् २००९ टीमले ८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । उसको जितमा सरु पुनले ४१ र शोभा आलले १४ रनको योगदान गरिन् ।
बलिङमा सन् २००७ टीमका सुस्मिता चौधरी र नीरा राजोपाध्यायले समान १-१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको सन् २००७ को टीमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८२ रनको सामान्य योगफल बनाएको थियो । उक्त टीमका लागि नीरा राजोपाध्यायले २३ तथा मधु थापा र नेरी थापामगरले समान १३-१३ रन बनाए ।
बलिङमा सन् २००९ को टीमका करुणा भण्डारीले ४, सोनु खड्काले २ तथा रीतु कनौजिया र सीता शाहीले १-१ विकेट लिए ।
रुपन्देहीको कोटहीमाई गाउँपालिकामा रहेको योलो ड्रिकिङ वाटरको आयोजना र रुपन्देही क्रिकेट संघको सहआयोजनामा सिरिज सुरु भएको हो । दुई दिनसम्म चल्ने सिरिजमा मुलुकभरबाट पूर्वक्रिकेटर महिला खेलाडीहरु भैरहवा आएका छन् । उक्त सिरिजमा लेदर बलको प्रयोग गरिएको छ ।