काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा राजनीतिक दलहरुले जम्माजम्मी १७ वर्षमात्रै देशको नेतृत्व गर्न अवसर पाएको बताएका छन् ।
काठमाडौंमा आयोजित युवा साहित्यिक सम्मेलनलाई सम्बोधन गर्दै उनले १० वर्ष माओवादीले गरेको हिंसात्मक राजनीतिले देश विकास र समृद्धिबाट पछि परेको टिप्पणी गरे ।
उनको भनाइ जस्ताको तस्तै
नेपालका राजनीतिक दलहरुको इतिहास ७५ वर्षको मात्रै छ । युरोप-अमेरिकामा राजनीतिक दलहरुको इतिहास दुई सय वर्षभन्दा पुरानो छ । त्यो समयदेखि उनीहरुले लगातार काम गर्न पाएका छन्, तर नेपालका राजनीतिक दलहरुको काम गर्न धेरै समय भएका छैनन् । २००७ सालमा राणाशाही अन्त्य भयो । १५ सम्ममा प्रधानमन्त्री फेर्ने काम राजाहरुले गरे, दलहरुले होइन ।
पहिलो पटक जनताले भोट हालेर प्रधानमन्त्री १५ सालमा बनाए । त्यो सरकार १७ सालमा राजाले अपदस्थ गरे, संसद विघटन गरे र मुलुकमा निरंकुश तानाशाही लाद्ने काम गरे । ३० वर्षसम्म त राजाकै सक्रिय निरंकुश शासन रह्यो ।
२०४६ सालमा दलहरुले आन्दोलन गरेर प्रजातन्त्र स्थापना गरे, ५ वर्षसम्म मात्रै काम गर्न पाएका थिए । मुलुकमा हिंसाको राजनीति सुरु भयो । २०५२ सालदेखि १० वर्षसम्म माओवादीले हिंसाको राजनीतिको नेतृत्व गर्यो, जसका कारणले नेपालमा काम गर्ने वातावरण नै भएन । युद्वको समयमा विकास र समृद्धिको काम सम्भव हुँदैनथ्यो ।
माओवादीलाई शान्ति प्रक्रियामा ल्याइसकेपछिको एक दशक संविधान संशोधनको नाममा बितायौं । जतिबेला जातजातको राज्य, एक मधेश एक प्रदेश जस्ता भावनामा नेपाली समाजलाई विभाजित गर्ने काम भयो । एक महिनामा २०-२५ दिन त बन्द हड्तालमात्रै हुन्थ्यो । अनि त्यस्तो अवस्थामा विकास हुँदैनथ्यो ।
दलहरुले आफ्नो नेतृत्वमा शासन चलाउन सुरु गरेको भनेको संविधान जारी भएपछि २०७२ बाट मात्रै हो । त्यसपछि अहिलेसम्म दशकमात्रै हो । पुरानो सबै जोड्दा नेपालका राजनीतिक दलहरुले जम्माजम्मी १७ वर्षमात्रै नेतृत्व गरे । बाँकी सबै त शाहवंशी राजतन्त्रले नेतृत्व गरेको हो ।