काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजावादी आन्दोलनमा भारतको कुनै समर्थन नरहेको बताएका छन् ।
गणेशमान सिंह फाउन्डेशनले सोमबार काठमाडौंमा आयोजना गरेको ‘नेपाल-भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरले पु¥याउनुभएको योगदान’ विषयक गोष्ठीमा देउवाले राजावादी आन्दोलनमा योगी आदित्यनाथको फोटो प्रदर्शन भए पनि भारतीय नेताहरुको राजावादी आन्दोलनमा कुनै समर्थन नरहेको बताएका हुन् ।
नेपालको गणतन्त्रमा आफ्नो पूर्ण समर्थन रहेको र आफू नेपालको संविधान र व्यवस्थाविरुद्ध नरहेको भनी योगी आदित्यनाथले गरेको प्रतिबद्धताप्रति उनले धन्यवाद दिए ।
सभापति देउवाले नेपाल-भारतबीचको सम्बन्ध निकै प्रगाढ र राम्रो रहेको धारणा राखे ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले छिट्टै बोलाएको खण्डका दुई देशबीचको सम्बन्ध अझ सुधार हुने जिकिर गरे । दुई देशबीच कुनै समस्या आए वार्तामार्फत समाधान गर्न सकिने उनको भनाइ छ ।
सभापति देउवाले गणतान्त्रिक व्यवस्थालाई सुदृढ पार्न आफूहरु लागिपरेको उल्लेख गरे ।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपाल-भारत सम्बन्धलाई थप बलियो बनाउन प्रजातन्त्रले महत्वपूर्ण आधार प्रदान गर्ने बताए ।
लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ पार्ने अभियानमा आफूहरु रहेको भन्दै उनले लोकतन्त्रमा आलोचना हुने विषयलाई स्वाभाविक रुपमा लिनुपर्ने धारणा राखे ।
उनले जनताको असन्तुष्टिलाई भड्काउने र धमिलो पानीमा माछा मार्ने प्रयास अनुचित भएको बताए ।