काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनौतीका बाबजुद पनि गणतन्त्र नै सर्वोत्तम व्यवस्था भएको बताएको छ । पार्टी कार्यवाहक सभापति डोल प्रसाद अर्यालले गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै गणतन्त्र नेपालले रोजेको र स्थापित गरेको सर्वोत्तम शासन व्यवस्था भएको बताए ।
उनले यसको मर्म र मूल्यमाथि भइरहेको प्रहारप्रति भने गहिरो चिन्ता व्यक्त गरेका छन् । विज्ञप्तिमा भनिएको छ, “नागरिक सर्वोच्चता, विधिको शासन र समावेशी लोकतन्त्र गणतन्त्रका आधारभूत स्तम्भ हुन् तर दलतन्त्रको एकाधिकार र सीमित नेताहरूको वरिपरि केन्द्रित शक्ति अभ्यासले ती स्तम्भहरू कमजोर बनेका छन्।”
नागरिकको असन्तुष्टि र निराशा बढ्दै जाँदा त्यसले व्यवस्थाको स्थायित्वमा समेत नकारात्मक असर पार्ने चेतावनी पार्टीले दिएको छ।
रास्वपाले प्रमुख दलहरूले संविधान संशोधनको मुद्दालाई रणनीतिक रूपमा ओझेलमा पारेको आरोप लगाएको छ।
गणतन्त्र दिवसकै सन्दर्भमा रास्वपाले आफ्ना सभापति रवि लामिछानेमाथि भएको ‘राजनीतिक प्रतिशोध’को घटनालाई गणतान्त्रिक मूल्य-मान्यतामाथिको गम्भीर प्रहारका रूपमा चित्रण गरेको छ। ‘राज्यका तीनै अंगबाट रवि लामिछानेमाथि भएको संगठित हमला राज्य संरचनामाथि नै चरम अविश्वास पैदा गर्ने कार्य हो,’ विज्ञप्तिमा भनिएको छ।
कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको सन्तुलनलाई बेवास्ता गर्दै झुटा मुद्दाहरू लगाइनु र तिनको आडमा न्यायालयबाट कार्यपालिकाको अभिष्ट अनुसार निर्णय हुनु विधिको शासनमाथिको आक्रमण भएको रास्वपाको ठहर छ। पार्टीले यस्ता घटनाले राजनीतिक प्रतिस्पर्धालाई धरापमा पार्ने र नागरिकमा भय सिर्जना गर्ने उल्लेख गरेको छ।