काठमाडौं । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले आज डाकेको बृहत् बैठकमा डा. जगमान गुरुङ अनुपस्थित बनेका छन् । बैठकले जेठ १५ बाट हुने जनआन्दोलन सफल पार्ने सन्दर्भमा थुप्रै महत्वपूर्ण निर्णयहरू गरेको छ ।
सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा राजसंस्था समर्थित राजनीतिक दलसहित ४४ वटा संघ–संस्थाको सहभागिता थियो । बैठकको अध्यक्षता जनआन्दोलन समितिका अध्यक्ष सुवेदीले गरेका थिए भने उनको दायाँबायाँ राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा नेपालका अध्यक्ष कमल थापा बसेका थिए । राजावादी अभियानमा लागेका सबैजसो चर्चित अनुहारहरू सहभागी बैठकमा यसअघि जनआन्दोलन समितिका कार्यबाहक अध्यक्ष रहेका जगमान कसरी छुटे त ? हामीले उनैलाई सोध्यौं ।
नेपाल प्रेससँग कुरा गर्दै गुरुङले आफूलाई निम्ता नआएको बताए । उनले भने, ‘आज बैठक रहेछ भन्ने थाहा पाएँ, तर मलाई बोलाइएको छैन । नबोलाएको ठाउँमा लुते कुकुर जस्तै पुच्छर हल्लाउँदै जाने कुरा पनि आएन । जगमान गुरुङ पो हो त ! जेठ १५ गते राजालाई सिंहासनमा स्थापित गराउँछु भन्ने मान्छे लुरुलुरु बैठकमा जान्छ ?’
गुरुङ जनआन्दोलन समितिका सल्लाहकार हुन् । यसअघि नवराज सुवेदी नजरबन्दमा रहँदा उनले केही समय समितिको कार्यबाहक संयोजकको जिम्मेवारीसमेत निभाएका थिए । नवराज नजरबन्द मुक्त भएर संयोजकको भूमिकामा फर्किएसँगै गुरुङ अलिकति ओझेलमा परेका छन् ।
आफूलाई बैठकमा नबोलाइनुको कारण थाहा नभएको गुरुङ बताउँछन् ।
‘म सल्लाहकारमात्रै हो, कार्यसमितिमा छुइनँ । यसको सल्लाह चाहिँदैन भनेर नबोलाइएको पो हो कि ?’, उनले ठट्टा मिश्रित स्वरमा भने ।
यस विषयमा जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालसँग जिज्ञासा राख्दा उनले प्राविधिक कारणले गुरुङलाई निम्तो नपुगेको बताए ।
नेपालले भने, ‘उहाँलाई फोन गर्ने कुरा थियो । समितिबाट फोन गएको, तर रिसिभ नभएको भन्ने पनि सुनेको छु । उहाँ समितिको सम्मानित सल्लाहकार र पूर्वकार्यबाहक अध्यक्ष हुनुहुन्छ । हामीले अवमूल्यन गर्ने कुरै आउँदैन । उहाँबाट समितिले निरन्तर सल्लाह प्राप्त गरिरहेको छ ।’
गुरुङले पनि घोषित आन्दोलनमा आफ्नो असहमति नरहेको स्पष्ट पारेका छन् ।
‘मैले आन्दोलनको विरोध गरेको छैन र गर्दिनँ । जेठ १५ को कार्यक्रममा बोलाइयो भने जान्छु । यद्यपि मेरो सोच चाहिँ अलिकति फरक छ’, उनले भने ।
गुरुङले केही दिन अगाडि एउटा सार्वजनिक कार्यक्रममा जेठ १५ गते नै गणतन्त्र फाल्ने र राजालाई सिंहासनमा राख्ने घोषणा गरेका थिए, तर जनआन्दोलन समितिले भने सोही मितिमा आन्दोलन थाल्ने मात्रै बताएको छ । यसबाट गुरुङको घोषणा र समितिको आन्दोलन कार्यक्रमबीच तालमेल नमिलेको देखिन्छ ।
यसबारे गुरुङ भन्छन्, ‘यो आन्दोलन समितिले घोषणा गरेको हो । म सल्लाहकार मात्रै हुँ । मेरो भनाइ चाहिँ राजा फर्काउन आन्दोलन गरिराख्नै पर्दैन । सडकमा ढुंगा हान्नैपर्दैन । जेठ १५ मै शान्तिपूर्ण तरिकाले श्री ५ लाई सिंहासनमा आसिन गराउन सकिन्छ ।’
त्यो कसरी त ?
उनले यस्तो आइडिया सुनाएः
जेठ ११ गते श्री ५ ले ७ दल (तत्कालीन) लाई बोलाउनुपर्छ । सात दल र श्री ५ ज्ञानेन्द्रबीच भएको सहमति देखाउने, टेबल टक गर्ने । यो सहमति के हो र अहिले नेपालको अवस्था के छ भनेर कुरा राख्ने । दलहरू कुरा गर्न आए भने आए । नत्र भने श्री ५ ले नै देशभरका जनतालाई आह्वान गरेर जेठ १५ मा काठमाडौं बोलाउने । मौसुफबाट म अगाडि बढेँ, साथ देऊ भनिबक्सेकै हो । त्यसैले अब श्री ५ नै अगाडि हाइबक्सिनु पर्यो । त्यस्तो आह्वान गरेपछि जनता आउँछन् र शान्तिपूर्ण रूपमा नारायणहिटी लगेर गद्दीमा राख्छन् । कुनै तनाव नै छैन ।
तपाईंले कहिलेको कुन सहमतिको कुरा गर्नुभएको हो ?
२०६२/६३ सालको जनआन्दोलनपछि राजा र तत्कालीन सात दलबीच लिखित सहमति भएको थियो । त्यो सहमतिमा २०४७ सालको संविधानलाई टेकेर अगाडि बढ्ने, संवैधानिक राजसंस्था र हिन्दू अधिराज्य मान्नेलगायत बुँदाहरू छन् ।
त्यो सहमति कोसित छ त ? अहिलेसम्म किन बाहिर आएन ?
राजासित पनि छ, सात दलसित पनि होला । कुरा कसो हो भने तास खेल्दाखेरि तुरूप त लास्टमा पछार्ने हो नि ! पहिले नै मसित यस्तो छ भनेर देखाइहाल्ने होइन । सरकारले पहिले नै अन्तर्वार्तामा यो सहमति भएको थियो भनेर संकेत पनि गरिबक्सेको छ । यदि जेठ ११ गते राजाले आह्वान गर्दा दलहरू आएनन् भने जनतालाई त्यो सहमति देखाउनुपर्छ । अनि उहाँ सीधै नारायणहिटी जानुपर्छ ।
नारायणहिटी गएर फेरि राजद्दीमा बस्न तपाईंले भने जस्तो सजिलो होला र ? सरकारले बल प्रयोग गर्दैन ?
राजाले जेठ १३ गते दलहरूसँग संवादमा यस्तो भयो भनेर जनतालाई सुसूचित गरिबक्सन्छ । दलहरू आएनन् भने सहमति यस्तो थियो भनेर देखाइबक्सन्छ र जनतालाई काठमाडौं आउन आह्वान गरिबक्सन्छ । त्यसपछि जनता आउँछन् ।
जनता खुशी भयो भने जनार्दन हुन्छ, जनता रुष्ट भए भने नरसिंह हुन्छ । नरलाई जनार्दन बनाउने मेसोमेलो मिलाउन राजा हुने मान्छेले पनि रंगढंग पुर्याउनु पर्यो नि ! श्री ५ ज्ञानेन्द्रले ‘जनताको सदिच्छाअनुसार राजा हुन्छु, कुनै पनि नेपालीलाई घाउचोट नलागोस्’ भनिबक्सेको छ । मैले त सजिलो ठान्या छु ।
तपाईंको राजासित यो विषयमा सरसल्लाह भएको छ र ?
मेरो राजासित अहिले भेटघाट भएको छैन । यति भन्नलाई भेटघाट गरिरहनै पर्दैन ।
राजाले सबै राजावादी नेताहरूलाई बोलाएर दर्शन भेट दिइराख्नुभएको छ, तपाईंलाई बोलावट आएन ?
छैन छैन । जो चाहिँ राजासित नेपरिएका छन्, बाउँठिएका छन्, उनीहरूलाई बोलाएर सम्झाउनुपरेको होला । मलाई त्यो गरिराख्नु पर्दैन । म त सँगै राजाको आँतमै छु । मलाई बोलाएर भात ख्वाउने, चिया खुवाउने गरिबक्सनै पर्दैन । हामी राजाको सदिच्छामै चल्ने मान्छे हो ।