Take a fresh look at your lifestyle.

सुदूरपश्चिमका चार सांसदसँग प्रचण्डको ‘टी मिटिङ’, डडेल्धुरामा १ गते निर्णायक छलफल

0

कैलाली। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशका चार सांसदसँग सुदूरपश्चिम प्रदेश संसदीय दलको समस्या बारे छलफल गरेका छन् ।

माओवादी सांसद खगराज भट्ट, रमेश धामी, झपट साउद र शिव सिंह ओलीसँग प्रचण्डले प्रदेशको समस्या बारे छलफल गरेका हुन्। प्रचण्डले २ पटकसम्म पठाएको सर्कुलर कार्यान्वयन नभएपछि उनी रुष्ट छन् ।

आज बिहान करिब ७: ३० बजेदेखि भएको छलफलमा तत्काल निर्देशन कार्यान्वयन हुने बताएका थिए । निर्देशन कार्यान्वयन गराउन २४ गते प्रचण्डले सबैलाई हेडक्वाटर बोलाएका थिए। तर लडेर चोट लागेपछि भेटघाट स्थगित भएको थियो । आइतबार चार सांसद्हरुले रोकिएको निर्देशन कार्यान्वयन बारे प्रचण्डलाई ध्यानाकर्षण गराएका थिए।

प्रचण्डले आगामी १ गते आफू डडेल्धुरा पुग्ने र त्यही संसदीय दलको बैठक आह्वान गरेर आफ्नो निर्देशन कार्यान्वय गराउने आश्वासन दिएका थिए ।

‘हामीले निर्देशन अझै कार्यान्वयन नभएको बारे जानकारी गरायौँ । उहाँले मेरै उपस्थितिमा अब कार्यान्वयन हुन्छ । १ गते डडेल्धुरामा छलफल गरौँला भन्नु भयो ‘प्रचण्डको भनाई उद्धृत गर्दै छलफलमा सहभागी एक सांसदले जानकारी दिए ।

के हो संसदीय दलको विवाद

२०८० माघ १२ गते बहुमतबाट खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाइएपछि माओवादीमा विवाद सुरु भएको थियो । १६ महिनादेखि संसदीय दलको विवाद कायम छ ।

प्रचण्डले प्रदेश संसदीय दलको नेता परिवर्तन गर्न दुई पटकसम्म लिखित पत्र पठाउँदा पनि निर्देशन कार्यान्वयन नभएपछि अहिले आफैले त्यस विषयमा चासो राखेका छन् ।

अघिल्लो १४ फागुनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशका सबै सांसदलाई बोलाएर आफू कैलाली पुग्नभन्दा पहिल्यै संसदीय दलको विवाद टुङ्गो लगाउन निर्देशन दिएका थिए ।

आफूले पटक पटक लिखित तथा मौखिक निर्देशन दिँदा पनि उक्त निर्णय नफेरिएपछि सबैलाई खुमलटार बोलाएर कैलाली पुग्नुभन्दा पहिल्यै विवाद मिलाउन भनेका थिए । प्रचण्डले आफू कैलाली पुग्नुभन्दा पहिल्यै विवाद मिलाउन भनेपछि पनि दुई पटकसम्म उनी कैलाली पुगिसकेका छन् । तर, विवाद भने मिलेको छैन ।

संसदीय दलका नेताबाट भट्टलाई हटाइए धामीलाई जिम्मेवारी दिँदा सभामुख बाहेकका १० सांसद मध्य भट्टको पक्षमा ४ जना सांसद रहेका थिए भने, धामीको पक्षमा ६ सांसद रहेका थिए ।

धामीको पक्षमा रहेका शिव ओली पनि अहिले भट्टको पक्षमा उभिएपछि ५र५ जना पुगेका छन् । अहिले भट्टको पक्षमा ओलीसहित, झपट साउद,रमेश धामी, जानकी पौडेल कुवर रहेका छन् भने धामीको पक्षमा अक्कल रावल, ओमविक्रम भाट सरल, लक्ष्मी विक र गीता माल रहेका छन् ।

संसदीय दलका भट्टले बहुमत देखाउन सकेका छैनन् भने धामीले पनि थप सांसदलाई आफ्नो पक्षमा पार्न सकेका छैनन् । केन्द्रबाट दलको नेता परिवर्तनको पत्र आउँदा पनि सांसदहरूले चासो नदिएपछि अहिले प्रचण्ड आफैले सबै सांसदलाई काठमाडौं बोलाएका थिए । तर त्यहाँ पनि छलफल नभएपछि प्रचण्डले आगामी १ गरे निर्णायक छलफलको मोटो तयार गरेका छन्।

Leave A Reply

Your email address will not be published.