काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुलापत्र लेखेका छन् । आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न सरकारको ध्यान नगएको भन्दै प्रधानमन्त्रीलाई खुलापत्र लेखेका हुन् ।
उनले भनेका छन्, ‘सरकार किन गम्भीर हुँदैन ? के शिक्षकको शालीनतालाई कमजोरीका रूपमा त हेरिएको होइन ? यदि सरकारले शिक्षक महासंघको आन्दोलन अब १-२ दिन भित्र समाधान नभएमा नेपाली कांग्रेस पार्टीले यस विषयलाई गम्भीरतापूर्वक लिनु पर्दछ ।’
यस्तो छ उनले लेखेको खुलापत्र-
सम्माननीय प्रधानमन्त्रीज्यू
जय नेपाल !
विषयः नेपाल शिक्षक महासंघको आन्दोलनलाई सम्बोधन गर्न सरकारलाई जोडदार माग गर्दै, खुल्ला-पत्र ।
नेपाल शिक्षक महासंघले विगत वर्षदेखि चरणबद्ध आन्दोलन गर्ने क्रममा यही चैत्र २० गतेदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गरिरहेको व्यहोरा अवगतनै छ । नेपाल शिक्षक महासंघसंग विगतमा सरकारले पटक-पटक सम्झौता गरेको विषय स्मरण गराउन चाहन्छु । महासंघले उठाएका जायज मागप्रति हाम्रो समर्थन रहेको छ ।
पार्टीको तर्फबाट अनौपचारिकरुपमा सरकारका सरोकारबाला मन्त्रीहरुसंग बारम्बार छलफल भएको नै छ । तथापी आजसम्म कुनै नतिजा नआउनु अत्यन्तै दुःखद पक्ष हो भन्ने हामीलाई लागेको छ ।
२०८२ साल प्रारम्भ हुँदैछ । आम नेपाली जनता नयाँ वर्ष -आफ्नो तरिकाबाट मनाउँदै छन् तर आम शिक्षक साथीहरु माईतिघरमा आन्दोलन गर्नुपर्ने परिस्थिति सृजना भएको छ ।
सम्माननीय प्रधानमन्त्रीज्यू,
सरकार किन गम्भीर हुँदैन । के शिक्षकको शालीनतालाई कमजोरीका रुपमा त हेरिएको होइन ? यदि सरकारले शिक्षक महासंघको आन्दोलन अब १–२ दिन भित्र समाधान नभएमा नेपाली कांग्रेस पार्टीले यस विषयलाई गम्भीरतापूर्वक लिनु पर्दछ भन्ने मेरो पार्टीसंग समेत जोडदार माग रहनेछ ।
जय नेपाल !
जीवन परियार
प्रतिनिधि सभा सदस्य एवं सहमहामन्त्री, नेपाली कांग्रेस ।