Take a fresh look at your lifestyle.

लुम्बिनीको प्रदेश राजधानीमा विशिष्टीकृत अस्पतालको सेवा सुरु

0

रुपन्देही । लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा पहिलो पटक विशिष्टीकृत अस्पतालको सेवा सुरु भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार विशिष्टीकृत सेवासहितको भालुबाङ अस्पतालको उद्घाटन गरे ।

प्रदेश सरकारकै पहलमा उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी, प्रस्तावित अस्पताल हुँदै भालुबाङ अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिएको हो । प्रस्तावित भालुबाङ अस्पतालले अस्पतालको रूपमा मान्यता पाएपछि मुख्यमन्त्री आचार्यले विशिष्टीकृत सेवासहितको अस्पताल उद्घाटन गरेका हुन् ।

मुख्यमन्त्री आचार्यले भालुबाङ अस्पताललाई विशिष्टीकृत अस्पतालको रूपमा प्रदेश सरकारले अघि बढाएको र जनशक्तिको व्यवस्थापनसहित गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गरिने बताए ।

दाङ, अर्घाखाँची, प्यूठान, रोल्पालगायतका जिल्लाका नागरिकले उपचार पाउने भरपर्दो अस्पतालको रूपमा अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।

दुर्गम क्षेत्रका अस्पतालहरूमा विशेषज्ञ डाक्टरको व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखिएको र सुगम क्षेत्रका अस्पतालमा थुप्रिएको जनशक्ति अन्य स्थानमा पठाउन सरकार लागिपरेको उनको भनाइ थियो ।

नयाँ विशेषज्ञ जनशक्ति भर्ना गर्न खोलिएको विज्ञापनमा अपेक्षित आवेदन नआएकोप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले भने, ‘सुगम क्षेत्रका अस्पतालमा विशेषज्ञ जनशक्ति थुप्रिने, तर अन्य अस्पतालहरूमा जनशक्ति नहुने अवस्थालाई अन्त्य गर्न चाहन्छौं । सरकारले यस्ता समस्यालाई गम्भीर रूपमा लिन्छ र सुधारका लागि पहल गर्छौं ।’

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न जरुरी रहेको बताए ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले यसअघि विशेषज्ञ सेवा लिन अन्यत्र जानुपर्ने बाध्यता रहेको र अब उक्त बाध्यता अन्त्य भएको बताए ।

स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले भालुबाङ अस्पतालमा विशेषज्ञ उपचार सेवा विस्तार गरिएको जानकारी दिइन् । अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. आकाश बेल्वासेले सेवा बिस्तारसँगै स्थानीयलाई सहज हुने बताए ।

२०७८ सालमा प्रस्तावित अस्पतालको रूपमा स्वीकृत भइसकेको अस्पतालमा अस्पतालमा जटिल प्रसूति सेवाअन्तर्गत शल्यक्रिया गरिँदै आएको छ । हालसम्म ५१ वटा जटिल प्रसूतिको शल्यक्रिया गरिएको छ ।

Leave A Reply

Your email address will not be published.