काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले विशिष्ट व्यक्तिको सम्पत्ति छानविनको पहल गर्न माग गर्दै सभामुखको ध्यानाकर्षण गराएको छ । पार्टीका महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’को नेतृत्वमा सिंहदरबार स्थित संसद सचिवालय मै पुगेर प्रतिनिधी सभाका सभामुख देवराज घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।
शासन सत्ताको जिम्मेवारी लिएका राजनीतिकर्मी, सुरक्षा, प्रशासन तथा संवैधानिक क्षेत्रका उच्च तहकै व्यक्तिको भ्रष्टाचारजन्य आचरणको कारण जनघात र राष्ट्रघात थोपरिदै गएको र जनतामा निराशा र आक्रोस बढिरहेको भन्दै पार्टीले ध्यानाकर्षण पत्र बुझाइएको महासचिव कञ्चनले बताए ।
देश र जनताप्रतिको दायित्वबोधलाई गम्भीर आत्मसात गरी विशिष्ट व्यक्तिको सम्पत्ति छानविन सम्बन्धि उच्च स्तरिय नागरीक छानविन समिति गठनको प्रक्रियामा सभामुख तर्फबाट तत्काल पहल गर्न पनि माग गरिएको उनको भनाई छ ।
नेकपा (बहुमत) ले उठाएको प्रश्न र प्रस्ताव गम्भीर र यथार्थपूर्ण रहेको स्वीकार गर्दै सभामुख देवराज घिमिरेले आफू यस विषयमा सकारात्मक रहेको बताए ।
उक्त भेटमा पार्टीका स्थायी समिती सदस्य उदयबहादुर चलाउने ‘दिपक’ दिपेन्द्र चलाउने ‘संगम’, पोलिटब्युरो सदस्य सागर लिम्बू लगायतका नेताको सहभागिता थियो ।