काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा आज नेपाल कुवेतसँग भिड्दै छ ।
आइतबार हङकङको मङ कोक क्रिकेट मैदानमा फाइनल खेल हुँदै छ । खेल बिहान ११ बजेर १५ मिनेटमा सुरु हुनेछ ।
हिजो शनिबार आयोजक हङकङविरुद्ध लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएसँगै नेपाल शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो ।
हङकङले नौ ओभरमा तीन विकेट गुमाउँदै ६८ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि खेल पुनः सञ्चालन हुन नसकेपछि दुवै टोलीले एक एक अङ्क बाँडेका हुन् । यससँगै नेपालले तीनबाट पाँच अङ्क बनायो ।