कैलाली। सुदूरपश्चिम विश्वविद्यालय अन्तरगत बुधवार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनको परिणाम आउने क्रम जारी छ।
यसैबीच दार्चुला सदरमुकाम खलङ्गामा रहेको दार्चुला बहुमुखी क्याम्पसको सभापतिमा नेपाल विद्यार्थी सङ्घका प्रकाश बडू र गोकुलेश्वर बहुमुखी क्याम्पसको सभापतिमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका सुनिल डाँगा विजयी भएका छन्।
दार्चुला बहुमुखी क्याम्पसमा नेविसंघका बडूले २२२ मत प्राप्त गरी विजयी भए । बडूका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका खडकसिंह ठगुन्नाले १९१ मत प्राप्त गरे । ठगुन्ना ३१ मतले पराजित भए। सभापतिमा स्वतन्त्र उम्मेदवार अनिलचन्द्र जोशीले २० मत मात्रै प्राप्त गरेका छन्।
नेविसंघ र अखिल क्रान्तिकारीको गठबन्धनबाट बडू प्यानलसहित विजयी भएका थिए।
यस्तै दार्चुलाको अर्को क्याम्पस गोकुलेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियुका सुनिल डाँगा विजयी भएका छन्। डाँगाले १०५ मत प्राप्त गर्दै विजयी हुँदा नेविसंघ र अखिल क्रान्तिकारीको गठबन्धनका साझा उम्मेदवार नेविसंघका नरेश विष्टले १०२ मत प्राप्त गरे। ३ मतले नेविसंघले हार बेहोर्नु परेको थियो।
जिल्ला सदरमुकाम खलङ्गामा रहेको दार्चुला बहुमुखी क्याम्पसमा ४८५ मतदाता छन् भने गोकुलेश्वर बहुमुखी क्याम्पसमा २६४ मतदाता छन्।