Take a fresh look at your lifestyle.

हिरासतभित्र भेटिएका रवीन्द्र-धवल : राजनीतिक प्रतिशोधको आभास, संवादको आश

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशम्शेर राणा १० दिनदेखि काठमाडौं प्रहरी परिसरको हिरासतमा कैद छन् । दुवै राजावादी नेताको यो पहिलो हिरासत अनुभव हो ।

चैत १५ गतेको राजावादी आन्दोलनपछि अस्पतालमा घाइतेहरु भेटेर फर्किने क्रममा उनीहरुलाई एकैपटक पक्राउ गरिएको थियो ।

सो आन्दोलनमा ४१ जना राजावादी नेता–कार्यकर्ताहरु पक्राउ परेकोमा मिश्र र राणा सबैभन्दा हाइप्रोफाइल हुन् । उनीहरुसहित ११ जनालाई राजद्रोह र संगठित अपराधको अभियोगमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

हिरासतमा रहेका सबैको पहिले ५ दिन र त्यसपछि ६ दिन म्याद थपका लागि जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । दोस्रोपटक थपिएको म्याद भोलि सकिने भए पनि उनीहरु तत्काल छुट्ने स्थिति देखिएको छैन ।

000

प्रहरी परिसरकाे अड्डा अहिले भद्रकालीमा  छ, जहाँको एउटा कक्षमा सँगै राखिएका छन् मिश्र र राणा । परीसरकाे भवन भव्य र आकर्षक डिजाइनमा बनेकाे छ, जहाँ पस्दाखेरि ‘हिरासत’ को भाइब्स नै आउँदैन । यसअघि हनुमानढोकामा रहेको परिसर भवन २०७२ सालको भूकम्पले भत्काइदिएपश्चात काठमाडौं प्रहरी टेकुमा (आयल निगमको परिसरभित्र) सरेको थियो ।

गत असारदेखि मात्रै काठमाडौं प्रहरी स्थाइरुपले  यहाँ  सरेको हो । १५ रोपनीमा फैलिएको यो भवनमा बेसमेन्टसहित १० तल्ला छन् भने दुई ब्लकमा ब्यारेक, प्रशासन, क्यान्टिन र हिरासत कक्ष छन् । चार वर्ष ४ महिना लगाएर निर्माण गरिएको भवनको लागत १ अर्ब २९ करोड रुपैयाँ बताइएको छ ।

खैर, हिरासत त हिरासत नै हो । जति शानदार भए पनि यहाँ माेजमस्ति त हुँदेन । थुनुवाहरुले थुनुवाकै रुपमा रहनुपर्छ ।  तथापि, राजनीतिक बन्दीहरुले अन्यको तुलनामा केही सहुलियत अवश्य पाउँछन् । प्रहरीले उनीहरुलाई सम्मानित व्यवहार नै गर्छ । यिनै थुनुवाहरुलाई भोलि कुनै दिन सलाम ठोक्नुपर्छ भन्ने प्रहरीले बुझेका हुन्छन् ।

मिश्र र राणालाई सुरुका दुई दिन अलिक कडाइ गरिएको थियो । त्यसबेला लगभग अपराधिकै व्यवहार गरिएको बारम्बार हिरासत धाइरहेका एक राप्रपा नेता बताउँछन् ।

‘सुरुमा प्रहरीको व्यवहार फरक थियो, हाम्रो पार्टीका अध्यक्ष भेट्न जाँदा पनि अपमानजनकरुपले बारको वारपार उभिएर कुरा गर्न लगाइयो’, ती नेताले भने, ‘तर, अहिले चाहिँ उनीहरु नरम बनेका छन् ।’

यहाँ ल्याइएपछि मिश्रलाई सुरुमा आम कैदीहरुसँगै राखिएको थियो । दुई रात उनलाई अन्य कैदीहरुसँग लस्करै सुताइयो । राणालाई भने सांसद भएर हो वा क्यान्सर सर्भाइभर भएर हो, छुट्टै राखिएको थियो । राप्रपाका नेताहरुले बारम्बार ध्यानाकर्षण गराएपछि दुईजनालाई एउटै कोठामा सुत्ने व्यवस्था मिलाइएको हो ।

हिरासतमा  थुनुवाहरुलाई दिनमा दुईपटक आगन्तुकहरुसँग भेट गर्न दिइन्छ । बिहान ७ देखि ९ र बेलुकी ३ देखि ५ बजेसम्म भेटका लागि छुट्याइएको छ । फलामे बारको वारपार उभिएर प्रहरीको उपस्थितिमा कुरा गर्नुपर्छ । बाहिरबाट खाना ल्याउन पाईंदैन । अलि मिठाेमसिनाे खान चाहनेले परिसरभित्रै रहेको क्यान्टिनको खाना (आफ्नै पैसामा) मगाउन सक्छन् ।

मिश्र र राणाले प्राय क्यान्टिनकै खाने गरेका छन् । क्यान्टिनको खाना सफा र स्वस्थकर रहेको अनुभव उनीहरु भेट्न आउनेहरुलाई सुनाउँछन् । तर, बाहिर मिडियामा नानाथरि समाचार आउँदा भने उनीहरु दुवै दुखी छन् ।

राप्रपाका उनै नेताले भने, ‘धवलजीलाई  ड्राइ फ्रुट्स र फलफुल खान चिकित्सकले सुझाव दिएका छन् । एक दिन प्रहरीले नै उहाँलाई अलिकति काजु र बदाम ल्याएर दिएको रहेछ । मिडियामा ‘धवलले हिरासतभित्रै काजु बदाम अडर गर्छन्’ भनेर समाचार आयो । समाचार लेख्नेहरुमा मानवीयता पनि हुँदैन कि क्या हो भनेर धवलजीले चित्त दुखाउँदै हुनुहुन्थ्यो ।’

मिडिया र सोसल मिडियामा यस्तो यस्तो आइरहेको छ भनेर नेताहरुलाई आगन्तुकले सुनाउँछन् । उनीहरुले मोबाइल चलाउन नपाउने भएकाले आफैंले सोसल मिडिया र अनलाइन प्लेटफर्महरु हेर्न पाएका छैन्न । यद्यपि, धवलका परिवारजनले हरेक दिन बिहान ७ बजे केही अखबारहरु ल्याइदिन्छन् । तर, अखबार पढेर उनीहरुको तलतल मेटिँदैन ।

राप्रपाका ती नेता फेरि भन्छन्, ‘अखबारहरुले प्राय एकपक्षीय रुपमा सत्ताको पक्षपोषण गरेर समाचार लेखिरहेको हुँदा उहाँहरुले त्यसमा खासै विश्वास गर्नुहुन्न । हामीले नै अनलाइन मिडिया, फेसबुक र युट्यूवमा यस्ता कन्टेन्टहरु आइरहेका छन् भनेर सुनाइदिन्छौं ।’

मिश्र र राणालाई भेट्न बिहान र बेलुका लामै लर्को लाग्ने गरेको छ । आफन्त, साथीभाइबाहेक प्राय राजावादी नेता कार्यकर्ताहरु हुन्छन् । राप्रपाका वयोवृद्ध नेता पशुपति शम्शेर राणा आज दिउँसो पुगेका थिए । उनी दोस्रोपटक आएका हुन् । विवेकशील पार्टीकी अध्यक्ष तथा मिश्रकी पूर्वसहयोद्धा समीक्षा बास्कोटा पनि पुगेकी थिइन् ।

आज पहिलोपटक आगन्तुकहरुले मिश्र र राणालाई खुल्लामा भेट्न पाए ।

निकट स्रोतका अनुसार अहिले हिरासत बसाइ र प्रहरीको व्यवहारप्रति दुवै नेताहरु कुनै असन्तुष्टि छैन । असन्तुष्टि छन् त केवल राजनीतिक । आफूहरुलाई राजद्रोहको गम्भीर मुद्दामा फँसाएर राजनीतिक प्रतिसोध साँध्न खोजिएको उनीहरुको बुझाइ छ ।

हुन पनि मिश्रलाई अदालत लैजाँदा हातमा हत्कडी लगाइनुले राजनीतिक प्रतिशोधकै संकेत गरेको थियो । प्राय राजनीतिक आन्दोलनमा पक्राउ परेका नेताहरुलाई यसरी हत्कडी लगाउने प्रचलन थिएन ।

हिरासतमा पनि उनीहरुलाई यही त्राश छ । राजनीतिक मुद्दालाई अपराधिकरण गरेर जेलमा सडाउने षडयन्त्र गरिएको  हाेकि भनेर सशंकित छन् उनीहरु । यद्यपि, अदालतले निस्पक्षरुपमा न्यायसम्पादन गर्ने दुवैको आशा छ ।

जतिसक्दो चाँडो राजनीतिक संवाद सुरु होस भन्ने चाहन्छन् उनीहरु । भेट्न आउने नेताहरुलाई पनि संवादको पहल गर्न आग्रह गर्ने गरेका छन् ।

पंक्तिकारसँगको भेट

जिग्रिङ्ग कपाल, झ्याप्प दारी, तनावग्रस्त अनुहार… । आज हिरासत पुग्नुअघि मिश्र र राणाबारे मैले गरेको कल्पना यस्तै थियो । तर यो कल्पनाभन्दा उल्टो अवस्थामा भेटेँ ।

म पहिलोचोटि प्रहरी परीसरमा थुनुवा भेट्न गएको थिएँ । सुरुमा नाम लेखाउनुपर्दो रहेछ । ‘रवीन्द्र मिश्र’ भनेपछि प्रहरीले दुवै नेतालाई ‘उता’ लगिएको भन्दै विल्डिङको भित्रपट्टि देखाए । केहीबेर यता र उता भौतारिएँ तर भेटिनँ । फेरि फर्किएर उनै प्रहरीलाई सोधेँ । उनले पनि सोधखोज गरेर पहिलो तल्लामा जान भने ।

पहिलो तल्लामा जाँदा दुवै नेताहरुलाई आगन्तुकले घैरेका  थिए । भेट्न आउनेको भीड धेरै भएर हुनसक्छ, आज पहिलोपटक खुल्लारुपले भेट्न दिइएको रहेछ । प्रहरीको निगरानी भए पनि आरामसँग नै कुराकानी भइरहेको थियो ।

दुवै नेताहरु पुरै फ्रेस देखिन्थे । मिश्रले आजै क्लीन सेभ गरेका रहेका छन् । कानमा टप टिल्पिलाइरहेको थियो । उनको हाउभाउमा कतै पनि पहिलेभन्दा फरक पाइनँ ।

मलाई देख्नेबित्तिकै मिश्रले सोधे, ‘तपाईंलाई कसरी आउन दिए ?’

सायद मभन्दा अघि कोही पत्रकार आएका थिएनन् । मैले पत्रकारका रुपमा नभएर साथीभाइको हिसाबले आएको बताएँ ।

‘पुरै फ्रेस देखिनुभएको छ, हिरासत बस्नुभएको जस्तो पनि लाग्दैन’, मैले टिप्पणी गरे । मिश्रले हिरासतमा आज पहिलोपटक दाह्री खौरेको सुनाए ।

‘छोरीले जिद्दी गरेकाले काटेँ’, उनले भने ।

आखिर छोरीले भनेपछि कुन बाबुले नकार्न सक्छ ?

यत्तिकैमा विवेकशील पार्टीकी नेतृ समीक्षा बास्कोटा आइपुगिन् । उनको हातमा एउटा मोटो किताब थियो । उनले मिश्रसित एकैछिन बात मारिन् अनि किताब थमाइन् । किताब पाएर उनी निकै प्रफुल्लित देखिए । ‘अब दिन कटाउन सजिलो हुनेभो’, भन्दै थिए ।

समीक्षापछि भेट्ने पालो आयो राप्रपाका लिजेन्डरी नेता पशुपति शम्शेर राणाको । ८४ वर्षीय राणालाई दुवै नेताले झुकेर अभिवादन गरे । प्रहरीले पनि सम्मानपूर्वक त्यहाँ रहेको बेन्चमा बसाए । राणाले नेताद्वयको स्वास्थ्य र हालचाल सोधे । अनौपचारिकरुपमा केही राजनीतिक कुराकानी भए । दुवै नेताले पटक–पटक हिरासत बसाइमा कुनै समस्या नरहेको बताइरहेका थिए ।

राणाले भने, ‘मलाई त पहिल्यै अदालतले अस्पतालमा बस्न भनेको हो । तर, म जान मानिनँ । स्वास्थ्यमा केही समस्या भएको छैन, किन जानु ?’

उनले हिरासत आउनुभन्दा दुई दिन अगाडि मात्रै आफ्नो क्यान्सर रोगको फलोअप गराएका रहेछन् । त्यसैले तत्काल डाक्टर भेटिहाल्नुपर्ने अवस्था पनि नरहेको सुनाए ।

अनौपचारिक कुराकानीकै दौरान मैले सोधेँ? ‘मञ्चमा टियर ग्यास हानेको भिडिओ त प्रहरीले फेक भन्यो नि ?’

दुवै नेताहरु फिस्स हाँसे । मिश्रले जवाफ दिए, ‘हो र ? पुष्टि गरे भयो नि त । मञ्चमा टियर ग्यास खाने हामी यहाँ ज्यूँदैछौं ।’

 

Leave A Reply

Your email address will not be published.