काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेमा पार्टी नेतृत्वले गरेको गलत कामको कसैको प्रश्न उठाउन नसक्ने बताएका छन्।
दोस्रो भोजपुर जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘नेकपा एमालेको पनि यस्तै भेला कतै भइरहेको छ। तर त्यो भेलामा एकजना मान्छेले पनि तलबाट उठेर गल्ती भएको छ। मञ्चमा हुनेले पनि भन्दैन। तर हामी कांग्रेसकाहरुले गल्ती भइरहेको छ भनिरहेको छ, समीक्षा गरिरहेका छौँ, सुधार्ने सङ्कल्प गरिरहेका छौँ।’
उनले अहिले सरकारले गभर्नर, प्रहरी प्रमुखको निर्णय गर्ने तयारी गर्दा पार्टीको तल्लो तहदेखि नै दबाब आएकाले डराएर बस्नुपर्ने अवस्थामा रहेको बताए। ०४६ सालपछि कांग्रेस, एमाले, माओवादी, राप्रपा, घण्टीदेखि पूर्वराजा समेत शासन सत्तामा पुगिसकेको भन्दै लाभको पदमा पुगेकाको छानबिन गर्न शक्तिशाली आयोग बनाउन प्रस्ताव गरे।
उनले थपे, ‘यो बीचमा लाभको पदमा गएकाहरूको सबैको सम्पत्ति छानबिन गरौँ। जो सुकै होस्। हाम्रो पार्टीको नाममा जोसुकै होस्, जतिसुकै शक्तिशाली होस्, तर गलत गरेको छ, ठगेको छ। सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको छ भने पाता कसेर लैजानुपर्छ भनेर पार्टीको बैठकमा भनेका छौँ। पार्टीको बैठक बाहिर संसदमा पनि हामीले कुरा राखिरहेका छौँ। यो कुरा हाम्रो पार्टी सभापति र प्रधानमन्त्रीको अगाडि पनि राखिरहेका छौँ। तर हामीले भनेको जस्तो निर्णय गर्न सकिरहेका छौँ।’
उनले पार्टीमा आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई विश्वास गर्न आग्रह गरे।उनले भने, ‘यस्तो हुँदा सबै कुरा सकियो भनेर बाहिर जाने कि हामीले भनेकोजस्तो गर्न सकेको छैन। तर हाम्रो आवाज मरेको छैन। तपाईँहरूले मलाई विश्वास गर्नुपर्छ अर्का महामन्त्रीलाई विश्वास गर्नुपर्छ। अरू साथीहरू पनि लागिराख्नुभएको छ।’