Take a fresh look at your lifestyle.

यस्तो छ तेस्रो पटक १०औं राष्ट्रिय खेलकुद सार्दा देखाइएको कारण, ६ बोर्ड सदस्यको नोट अफ डिसेन्ट

0

पोखरा । आगामी जेठ ३ देखि १० गतेसम्म कर्णाली प्रदेशमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेमा तोकिएको दिनदेखि नै धेरैको आशंका थियो । गत मंसिरमा तोकिएको १०औं खेलकुद चैतमा सारियो । चैतमा पनि हुन नसकेपछि पुनः जेठमा सारिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को आज बसेको १२२औं बोर्ड बैठकले जेठमा पनि १०औं खेलकुद नगर्ने निर्णय गर्‍यो । थप नयाँ मितिसमेत तोक्न सकेन ।

राखेपले जेठमा प्रतियोगिता गर्न सक्ने नसक्ने विषयमा अनुगमन गर्न राखेप उपाध्यक्ष ध्रुव आचार्यको संयोजकत्वमा समिति बनाएको थियो । सोही समितिले अनुगमन गर्दै ११ बुँदामा वस्तुगत अवस्थाबारे जानकारी गराएको थियो । सोहीबमोजिम राखेपको १२२औं बैठकले १०औं खेलकुद स्थगित गरेको छ ।

प्रतियोगिताको मिति नजिकिँदै गए पनि अहिलेसम्म कुन खेल कहाँ कहाँ हुने टुंगो नलागेको, मुख्य प्रतियोगिता-स्थल सुर्खेत रंगशालाको भौतिक पूर्वाधार निर्माण सम्पन्न नभैसकेको र मापदण्डविपरीत र कमसल संरचनामा खेलहरु खेलाइँदा दुर्घटनाको जोखिम हुनसक्ने खतरा रहेको समितिको ठहर छ ।

यस्तै अहिलेसम्म खेलाडी छनोट हुन नसकेको, खेल सामग्रीको टेन्डर नभएको र टेन्डर आह्वान गरेर प्रतियोगिता गर्न सम्भव नदेखिएको अनुगमन समितिले उल्लेख गरेको छ ।

प्रतिकूल मौसमका कारण थप जटिलता रहेको, प्रतियोगिताका लागि अर्थ मन्त्रालयबाट विनियोजित बजेटबाट विषयगत रुपमा शीर्षक बाँडफाँट हुन बाँकी, कतिपय खरिद तथा टेन्डर प्रक्रियाअघि विषयगत उपसमिति गठन भएको छैन ।

खेलाडी, प्रशिक्षक तथा निर्णायकहरुको संख्यासमेत निर्धारण हुन नसकेको, विभिन्न समय र स्थानमा भएका स्थलगत भ्रमण, अध्ययन तथा अनुगमनबाट समेत यथास्थितिमा कार्यक्रम आयोजना गर्नु प्रत्युत्पादक हुने देखिएको ठहर गरिएको छ ।

अहिलेकै अवस्थामा प्रतियोगिता सञ्चालन गर्न सकिने नसकिने कुरामा कर्णाली प्रदेश सरकारसमेत अन्योलमा रहेको र परिषद्मा कार्यरत कर्मचारीबाट समेत यही अवस्था र हतारमा व्यवस्थित रुपमा प्रतियोगिता गर्न सम्भव नरहेको राय प्राप्त भएको सो अनुमगन समितिको ठहर छ ।

६ बोर्ड सदस्यको नोट अफ डिसेन्ट

१२२औं बोर्ड बैठकको निर्णयमा ६ बोर्ड सदस्यले नोट अफ डिसेन्ट लेखेका छन् । उनीहरुले प्रतियोगिता स्थगित गर्ने कुरा गम्भीर असहमतिको पत्र खेलकुदमन्त्री तथा राखेपका अध्यक्ष तेजुलाल चौधरीलाई बुझाएका छन् ।

नोट अफ डिसेन्ट लेख्नेमा बोर्ड सदस्य दीपेन्द्र विष्ट, प्रकाशकुमार कुसारी, डा. मधुसुधन सुवेदी, अञ्जन धमला, अञ्जना श्रेष्ठ र वीणा नवाछे श्रेष्ठ छन् ।

पटकपटक सार्दा खेलाडी खेल्न पाउने हक अधिकारबाट वञ्चित हुनुपरेको बोर्ड सदस्य डा. सुवेदीले बताए ।

‘पटकपटक मिति सर्दा खेलाडीलाई खेल्ने चाहना पनि घट्दै गएको छ । मंसिरमा हुने भनिएको प्रतियोगिता जेठमा पनि हुँदैन । खेलाडीले कहिले हुन्छ भनेर तयारी गर्ने ?’, उनले प्रश्न गरे ।

प्रदेश खेलकुद परिषद्का सदस्यसचिवले पनि दशौंको मिति सारेको निर्णयप्रति असहमति प्रकट गरे । गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव श्रीधर शर्माले राष्ट्रिय खेलकुद रोकिएकोप्रति प्रदेशले घोर आपत्ति प्रकट गर्ने बताए ।

‘हाम्रो प्रदेशमा खेलाडी फारम भर्ने कुरा भइसकेको छ, तर राखेपले संख्या नतोकिदिएको कारणले हामीले छनोट नगरेको हो । राखेपले दिएको ३ दिनभित्र हामीले जिल्ला, प्रदेश छनोट गरेर ल्याइदिन्छौं’, उनले भने ।

उनले थपे, ‘प्रदेशहरु छनोट गर्न तयार छन् । गेम रोकिएको कारण राखेप हो । प्रदेश होइन । न राखेपले गर्‍यो न त हामीलाई अन्तरप्रदेश गर्न दियो । यसमा प्रदेशको तर्फबाट घोर आपत्ति प्रकट गर्छौं । असहमति प्रकट गर्छौं ।’

Leave A Reply

Your email address will not be published.