जनकपुरधाम । मधेश प्रदेशभर स्वास्थ्य सामग्री तथा मेसिन प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले आपूर्ति गर्छ । केन्द्रलाई आर्थिक प्रभावमा पारेर व्यापारीले आफू अनुकूल टेन्डर आह्वान गर्न लगाउँछ । र, केन्द्रलाई आर्थिक प्रभावमा पारेकै व्यापारीले टेन्डर हात पार्छ । यस कार्यमा ठूलो रकम अनियमिता हुने गरेको छ ।
केन्द्रका कर्मचारीले कोरोना कालदेखि नै व्यापारीको आर्थिक प्रलोभनमा परेर स्वास्थ्य सामग्री तथा मेसिन खरिद गर्ने गरेको रोग अहिले पनि कायमै छ । पछिल्लो पटक एउटै व्यापारीलाई पर्ने मापदण्ड निर्धारण गरेर पुनः ७ वटा टेन्डर केन्द्रले आह्वान गरेको थाहा पाएपछि स्वास्थ्यमन्त्री शत्रुधनप्रसाद सिंहले एक्सन लिए ।
मन्त्री सिंहको आदेशमा केन्द्रले सबै टेन्डर रद्द गरेपछि व्यापारी अदालत पुगेका छन् ।
स्वास्थ्यमन्त्री सिंहको निर्देशनमा केन्द्रले फागुन १८ मा ७ वटा टेन्डर रद्द गरेको सूचना निकालेको थियो । टेन्डर रद्द भएपछि आदित्य इन्टरनेशनल जनकपुरधाम ७ का प्रोप्राइटर अमितकुमार सिंहले उच्च अदालत जनकपुरमा रिट हालेका छन् ।
उनले केन्द्र, मन्त्रालयसमेतलाई विपक्षी बनाई हालेको रिटमा उच्च अदालतले मंगलबार दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।
रिटमा सुनुवाइ गर्दै न्यायाधीश ध्रुवकुमार पियाले कम्पनीको ठेक्का रद्द गर्नेगरी २०८१/११/१५ को निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राखी उक्त निर्णयसँग सम्बन्धित सक्कल निर्णय फाइल झिकाउन आदेश दिएको छ ।
स्रोतका अनुसार रिट हालेका आदित्य इन्टरनेशनलका प्रोप्राइटर सिंहले अदालतलाई समेत प्रभावित पार्ने धम्की दिन थालेका छन् ।
मन्त्रालय स्रोतले भन्यो, ‘सिंह ठूलो माफिया हुन् । उनले पैसाको धाक लगाउँछन् । अदालतलाई पनि किन्ने हैसियत राखेको छु, मन्त्रीले केही गर्न सक्दैनन् भनेर धम्काउने गरेका छन् ।’