गिरिजाप्रसादबारे रवीन्द्र मिश्रको तिखाे टिप्पणीः प्रजातन्त्रलाई कुशासन र भ्रष्टाचारले ध्वस्त पार्ने नेता
काठमाडौं । कांग्रेसका तत्कालीन सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसका दिन राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले उनीमाथि आलोचात्मक टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा ७ बुँदे आरोपसहित कोइरालाको स्मरण गरेका हुन् ।
गिरिजाले कांग्रेसको विपिपथको उचाइलाई जीपीपथ हुँदै प्रचण्डपथमा विलय गराएको मिश्रको पहिलो टिप्पणी छ । बहुदलील प्रजातन्त्रलाई काण्डैकाण्ड, षडयन्त्रै षडयन्त्र, कुशासन र भ्रष्टाचारले ध्वस्त बनाइदिने नेताका रुपमा समेत उनले कोइरालालाई सम्झिएका छन् ।
हेर्नुस् मिश्रले कोइरालाबारे लेखेको स्टाटस:
१. कांग्रेसको ‘वीपीपथ’को उचाइलाई ‘जीपीपथ’ मा झारेर ‘प्रचण्डपथ’ मा विलय गराउने नेता ।
२. राजासँगको चरम असन्तुष्टि र रिसको आवेगमा देशको दीर्घकालीन हितमै घात गर्ने नेता ।
३. राजासँगको रीसको सुरमा देशको पहिलो राष्ट्रपति बनाउने ‘प्रचण्ड ललिपप’ मा फसेका नेता ।
४. नारायणहिटी दरबार भत्काएर त्यसको ठाउँमा विदेशी दरबार निर्माण गर्ने नेता ।
५. बहुदलीय प्रजातन्त्रको जगलाई काण्डैकाण्ड, षडयन्त्रै षडयन्त्र, नातावाद/कृपावाद, असक्षमता, कूशासन र भ्रष्टाचारले ध्वस्त बनाइदिने नेता ।
६. गाउँमा माओवादी आगो सल्किँदै गर्दा संसदमा सांसद किनबेच, धमिजा/लाउडा काण्ड गर्ने, प्रशासनदेखि, न्यायलयदेखि, स्कूल र विश्वविद्यालयदेखि, समाजको हरेक पत्रलाई दलीयकरण गरेर समाजलाई सदाका लागि पतित बनाउने एकजना प्रमुख नेता ।
७. सरकारी उद्योगहरूलाई संसारका अन्य देशमा पनि बेलाबखत निजीकरण गरिन्छ । तर तिनलाई निजीकरण गर्दा ती सधैँ ध्वस्त÷बन्द हुँदैनन् । तर सङ्क्रमणको राम्रो योजना नै नबनाइ निजीकरणको नाममा अमूल्य राष्ट्रिय उद्योगहरू ध्वस्त पार्ने नेता ।