काठमाडौं । जारी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा नेपाल पुलिस क्लवका स्पिनर ललितनारायण राजवंशीले लगातार उच्च कोटिको प्रदर्शन गरिरहेका छन् । आज पनि उनले घातक बलिङ गर्दै सुदुरपश्चिमविरुद्ध ६ विकेट लिए ।
पहिलो ब्याटिङ गर्दै पुलिसले ४७ ओभरमा १६० रन मात्रै जोड्न सकेको थियो । तर, १६१ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा सुदुरपश्चिम ९९ रनमै समेटियो । बलियो विभागीय टिमलाई हराउने सुदुरपश्चिमको सपनालाई ललितले चकनाचुर पारिदिए ।
ललितले ७ ओभर बलिङ गर्दा केवल १५ रन खर्चेर ६ विकेट आफ्नो पोल्टामा पारेका हुन् । सुदुरपश्चिमका कम अनुभवी ब्याटरहरुले ललितको स्पिन नै बुझ्न सकेनन् र लगातार विकेट गुमाउन पुगे । दुईजना ब्याटरले मात्रै दोहोरो अंकमा रन जोेडेका थिए ।
आजका प्रदर्शनसँगै पछिल्ला तीन खेलमा ललितको विकेट चार्ट १७ पुगेको छ । यो आफैंमा अविश्वसनीय प्रदर्शन हो । उनले अघिल्लो म्याचमा मधेसविरुद्ध २८ रन खर्चेर ५ विकेट लिएका थिए भने त्यसअघि सशस्त्र प्रहरीविरुद्ध १८ रन खर्चेर ६ विकेट लिएका थिए ।
समग्र प्रतियोगितामै ललितको प्रदर्शन शानदार छ । उनले अहिलेसम्म ५ म्याचमा २१ विकेट लिइसकेका छन् । सुरुवाति दुई खेलमा लुम्बिनी र कोशी विरुद्ध २–२ विकेट लिएका ललित त्यसयताका ३ खेलमा विकेटको विस्कुन लगाउँदै लगातार म्यान अफ द म्याच बने । यो उनको अर्को अभूतपुर्व सफलता हो ।
जारी प्रधानमन्त्री कपमा सर्वाधिक विकेट लिने बलरहरुको सूचीमा ठूलो अन्तरालसहित ललित शीर्षस्थानमा छन् । उनले २१ विकेट लिँदा दोस्रो स्थानमा रहेका सहाब आलमको विकेट संख्या १५ छ । यस्तै कमलसिंह ऐरी १३ विकेट लिएर तेस्रो स्थानमा छन् ।
नेपाली क्रिकेट टीमका स्टार स्पिनर सन्दीप लामिछानेले प्रधानमन्त्री कप खेलेका छैनन् । केही समयअगाडि उनले हर्नियाको शल्यक्रिया गराएकाले यो प्रतियोगिता खेल्न नसकेका हुन् । प्रतियोगिताका खेलहरु नजिकबाट नियालिरहेका सन्दीपले आज ललितको प्रशंसामा शब्द खर्चिए ।
उनले ट्विटरमा ललितको प्रदर्शनबारे लेखेका छन्, ‘उसको प्रत्येक स्पेल, प्रत्येक ओभरमा विसुद्ध उत्कृष्टता । कस्तो शानदार प्रतियोगिता खेलिरहेको छ उसले ।’
ललितले केही समयअघि सम्पन्न नेपाल प्रिमियर लिगमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । सो प्रतियोगितामा उनी सर्वोत्कृष्ट बलर बन्दै मोटरसाइकल जितेका थिए ।