जनकपुरधाम । मधेश प्रदेशमा ‘एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक’ योजनाको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् ।
उक्त योजनाको शिलान्यास गर्न भोली आइतबार प्रधानमन्त्री ओली जनकपुरधाम आउने कार्यक्रम तय भएको छ । यसबारे जानकारी भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवले पत्रकार सम्मेलनमार्फत दिएका हुन् ।
शिलान्यास कार्यक्रम जनकपुरधामस्थित महेन्द्र नारायण निधी संस्कृति भवनमा राखिएको छ । त्यहाँबाटै प्रधानमन्त्री ओलीले कालोपत्रे सडक निर्माणको डिजिटल शिलान्यास गर्नेछन् ।
भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत सञ्चालनमा आउन लागेको ‘एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक’ योजना अन्तर्गत हरेक प्रदेशसभा क्षेत्रमा ५ किलोमिटर कालोपत्रे सडक निर्माण गरिनेछ । यो वहुवर्षिय योजना रहेको मन्त्री यादवले बताए ।
उनका अनुसार यस वर्ष ३२० किलोमिटर कालोपत्रे सडक निर्माण हुनेछ । ग्रामीण क्षेत्रलाई शहरी केन्द्रसँग जोड्ने र स्थानीय विकासमा योगदान पुर्याउन कालोपत्रे सडक निर्माण गर्ने लक्ष्य छ ।
मन्त्री यादवले कालोपत्रे सडक विस्तारको योजनाले जनतालाई प्रत्यक्ष लाभ पुर्याउने भएकाले सन्देशमूलक बनाउन जरुरी रहेको बताए । उनले सडक निर्माणबाट कृषि उत्पादन बजारसम्म पुर्याउन सजिलो हुने, आपत्कालीन सेवा सहज हुने, रोजगारी सिर्जना हुने, व्यापार, पर्यटन तथा स्थानीय उद्योगधन्दा प्रवर्द्धनमा समेत मद्दत पुग्ने विश्वास व्यक्त गरे ।